• ११ मंसिर २०८१, मङ्गलबार

तेल बोक्ने ट्याङ्करमा ५९४ केजी गाँजा

blog

गाँजा ओसारपसार गर्न प्रयोग गरिएको को १ ख ७३२२ नम्बरको ट्याङ्कर । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले, फागुन २ गते ।
साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । डिजेल/पेट्रोल बोक्ने ट्याङ्करमा गाँजा धरानतर्फ लैजाँदै गदै गर्दा तीन भारतीय र एक जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको हो  ।

बुधबार बिहान करिब २ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको दैनिक पिकेट डिउटीले गाँजा बोकेको को १ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङ्कर गाडीसहित चार जनालाई पक्राउ गरेको हो । मूलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको ट्याङ्करमा लागू औषध बोकेको शङ्का लागेर प्रहरीले चेकजाँच गरेको थियो ।

चेकजाँच गर्ने क्रममा ट्याङ्करको तेल लगाउने पाँच वडा डिब्बा (केल)मध्ये बिचको (केल) भित्र ५ सय ९४ केजी गाँजा भेटिएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवनकुमार कार्कीले बताउनुभयो । पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ । मुचुल्का उठाउने काम भइरहेको र नियन्त्रणमा लिइएको व्यक्तिसहित ट्याङ्कर र गाँजालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाउने तयारी भइरहेको भेडेटार इन्चार्ज कार्कीले बताउनु भयो ।