• १२ साउन २०८१, शनिबार

पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट

blog

पञ्चकोटमा राखिएको मुक्तिनाथ महाघण्ट । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

बागलुङ, फागुन १ गते । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अनुसार उक्त महाघण्ट राखिएको हो । 

पञ्चकोटमा फागुन ९ गतेदेखि आयोजना हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा महाघण्टको विधिपूर्वक स्थापना गरिने भएको छ  । मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकोले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको छ । 

महाघण्टी बनाउन ८ वर्ष लाग्यो । पञ्चकोटमा निर्माण गर्न लागिएको १ सय ८ फिट अग्लो गण्डकी विश्वशान्ति कलसको फाउण्डेसन नजिकै महाघण्टी राखिएको छ ।  

महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीहरूमा सुन्न सकिने दाबी गरिएको छ । महाघण्ट बनाउन करिब दुई करोड रुपियाँ खर्च लागेको अनुमान छ । 

भक्तजनहरूले महाघण्टको निर्माण गरेर पञ्चकोटलाई समर्पण गरेको ब्रह्माण्डीय महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘महायज्ञको शुभारम्भका दिन महाघण्ट बजाइने छ र यसको ध्वनि सबैले सुन्नेछन् ।’’ फागुन ९ गतेदेखि सुरु हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञका अवसरमा घण्टाको विधिवत् रूपमा प्राणप्रतिस्ठाको कार्य गरिने उहाँले जानकारी दिनुभयो । 

सोमबार महायज्ञस्थलमा सम्पन्न भएको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकमा सहभागी हुन आउनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महाघण्टको अवलोकन गर्नुहुँदै पञ्चकोटलाई चिनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।