• १२ साउन २०८१, शनिबार

स्वादिष्ट परिकार बनाउँदै–बेच्दै विद्यार्थी

blog

विद्यार्थीले बनाएको कोदोको परिकार ।

राजकुमार भट्टराई

खोटाङ, माघ २९ गते । खोटाङमा रैथाने बाली कोदोबाट स्वादिष्ट परिकार बनाएर विद्यार्थीले आम्दानी गर्न थालेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउन्डेसनका विद्यार्थीले कोदोको पिठोको मःम, बिस्कुट लगायतका स्वादिष्ट परिकार बनाएर विक्री गर्न थालेका छन् । 

जिल्लामा अत्यधिक कोदो फल्ने भए पनि यसको प्रयोग जाँड–रक्सीमा मात्र हुँदैआएको थियो । शुभम् फाउन्डेसनले सञ्चालन गरेको शुभम् क्याफेमा अहिले कोदोका विभिन्न स्वादिष्ट परिकार बनाउन थालिएको हो । 

फाउन्डेसनका विद्यार्थीले स्वादिष्ट परिकार बनाउन थालेपछि अहिले क्याफेमा परिकार खान जानेहरूको भीड लाग्न थालेको छ । केही समयअघि जैविक विविधता केन्द्र काठमाडौँले रैथाने बालीको परिकार तयार पार्ने तालिमको आयोजना गरेको थियो । 

सोही तालिममा सहभागी शुभमका विद्यार्थी विकास राईले अहिले धमाधम क्याफेमा कोदोका परिकार बनाइरहेका छन् । राईबाट सिकेर अन्य विद्यार्थीले पनि पालो दिने गरेका छन् ।

कोदोबाट बिस्कुट, मःम, नम्किन, डुनोट, केकलगायतका परिकार बनाउन सकिने राईको भनाइ छ । तत्काललाई भने परीक्षणका लागि बिस्कुट र मःम मात्र बनाइरहेको राईले बताउनुभयो । 

मादक पदार्थमा प्रयाेग भइरहेको कोदोलाई स्वास्थ्यकर खानाका रूपमा प्रयोग गर्दै व्यावसायिक रूपमा उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न परिकार बनाउन थालिएको फाउन्डेसनका कार्यकारी निर्देशक सूर्य राईले बताउनुभयो । हाल क्याफेमा कोदोका मःम र बिस्कुट बिक्री भइरहेको छ । 

खोटाङमा हाल १९ हजार १८४ हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ । यो वर्ष जिल्लामा ३४ हजार १४६ मेटिकटन कोदो उत्पादन भएको छ । तर सही सदुपयोग गर्न नजान्दा आम्दानी खासै नभएको कृषक बताउँछन् । कोदोलाई सही सदुपयोग गर्न नसक्दा कोदो खेतीबाट कृषकले लगानी उठाउन सकेका छैनन् । 

अधिकांश कृषकको भनाइअनुसार गाउँघरमा आजभोलि कोदोको प्रयोग जाँड–रक्सीमा मात्र भइरहेको छ । तर त्यसबाट पनि उल्लेखनीय आम्दानी छैन । रोटी, ढिँडो र कोदोको पिठोको अन्य परिकार बनाएर खाने चलन बिस्तारै हराउँदै गएको छ ।

कृषकले कोदोको विकल्प खोज्न थालेको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी सञ्जयकुमार पण्डितले बताउनुभयो । रावाबेसी गाउँपालिका –३ लामिडाँडाका कृषक कुमार श्रेष्ठले भन्नुभयो, ‘कोदो खाँदा के फाइदा हुन्छ भनेर अहिलेका युवालाई थाहा नै छैन । कोदोले दिने बल चामलको भातले कहाँ दिन्छ ?’ 

आयुर्वेद चिकित्सक उमेश मेहताको भनाइअनुसार सुगरको बिरामीका लागि सबैभन्दा फाइदा कोदोको परिकारले गर्छ । स्वास्थ्यको हिसाबले कोदोको परिकारले हरेक व्यक्तिलाई राम्रो गर्ने उहाँको भनाइ छ ।