• १५ वैशाख २०८२, सोमबार

सदरमुकाममै सडक निर्माण कार्य सुस्त

blog

कमलामाई नगरपालिका–४ मल्लागाँउस्थित कच्चि सडक । तस्बिरः बाबुराम देवकोटा

बाबुराम देवकोटा
सिन्धुलीमाढी, माघ २९ गते ।
 सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा सुरु गरिएको सडक निर्माण कार्य सुस्त बनेको छ ।

सडक डिभिजन कार्यालय खुर्कोटअन्तर्गत सदरमुकामको माझिटार–पानीट्याङकी–नुनथला–मल्लागाँउ हुँदै हिरापानीसम्मको आठ किलो मिटर लम्बाइको सडक निर्माण कार्य सुस्त भएको स्थानीयको गुनासो छ ।

सडक निर्माण कार्यमा खटिनु भएका सडक डिभिजन कार्यालय खुर्कोटका इन्जिनियर सन्देशराज ढुंगेलका अनुसार दुई वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी १८ करोड रुपियाँ लागतमा कालिका–बेदान्सी–विकास जेभिले २०७९ सालमा नै ठेक्का सम्झौता गरी काम सुरु गरेको हो ।

‘‘२०८१ सालको असारसम्म काम सक्नु पर्दछ,’’ इन्जिनियर ढुङ्गेलले भन्नुभयो, ‘‘तीन वटा कम्पनीले जेभिमा ठेक्का सम्झौता गरेका छन् । तर अहिलेसम्म कामको प्रगति भने करिब १५ प्रतिशत मात्रै छ । निर्माण कार्य सुस्त छ ।’’ कार्यालयले निर्माण कम्पनीलाई काम छिटो गर्न ताकेता गरिरहेको उहाँको भनाइ छ ।

कार्यालयले निर्माण कम्पनीलाई आफूले गर्नु पर्ने आफ्नो कारबाही सबै गरिरहेको उहाँले बताउनुभयो । पर्याप्त बजेटको व्यवस्थापन नहुँदा पनि काममा ढिलाइ भएको कार्यालयले जनाएको छ । आठ किलोमिटर लम्बाइको उक्त सडकको प्राविधिक स्टिमेट अनुसार सुरुमा लागत करिब ४५ करोड रहेपनि कालिका–बेदान्सी–विकास जेभि निर्माण कम्पनीले १८ करोड रुपियाँमा ठेक्का सम्झौता गरी काम सुरु गरेको इन्जिनियर ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई लेनमा निर्माण हुने सडकको चौडाइ साढे सात मिटर हुनेछ । त्यसमा कालोपत्रे भने साँढे पाँच मिटरको रहने छ । सडक निर्माणको गति हेर्दा कमलामाई नगरपालिका–७ को माझिटारबाट निर्माण सुरु गरिएको उक्त सडकको निर्माण गति हेर्दा बन्छ की बन्दैन जस्तो स्थानीयको गुनासो रहेको कमलामाई नगरपालिका–४ मल्लागाँउका बासिन्दा डम्बरबहादुर कार्की बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘पहिला रिङरोड निर्माणको काम सुरु भएको सुन्दा घर मुनीको कच्चिसडक स्तरउन्नतीसहित पिच हुने भयो भनेर उत्साहित थियौँ । अहिले शङ्कै शङका छ बन्छ कि बन्दैन भनेर ।’’ उक्त सडकले कमलामाई नगरपालिकाको वडा नं. ४, ५ र ७ को भित्री बस्तीलाई समेट्ने स्थानीयले बताएका छन् । माझिटार–चकमके सडकअन्तर्गत माझिटारबाट निर्माण सुरु गरिएको उक्त सडक हिरापानीमा आएर बिपी राजमार्गमा जोडिने छ ।

कालिका–बेदान्सी–विकास जेभिका ठेकेदार मन्त्रु साह भने बजेट अभाव, जग्गा विवाद, स्थानीय केही व्यक्तिले आफैँ काम गर्न गरेको अवरोध र सडकमा पर्ने रुख काट्ने समस्याले नै निर्माणले गति नलिएको गुनासो गर्नु हुन्छ । ‘‘कार्यालयले नै यो वर्ष एक करोड रुपियाँ मात्रै बजेट आएको छ, त्यही अनुसार काम गर्नुस् भनेर हामीलाई निर्देशन आएको छ,’’ उहाँले भन्नुभयो, ‘‘यही पाराले वर्षको एक करोडको काम गर्दै जाने हो भने आठ किलो मिटर सडक निर्माण गर्न १८ वर्ष लाग्ने भयो ।’’

फिल्डमा काम गर्न खटिएका कामदार र मिस्त्रिलाई स्थानीय केही व्यक्तिले आफैँले काम गर्न पाउनु पर्छ भन्दै काम गर्न नदिएर शरीरमा जुठो पानी समेत छ्याप्देको उहाँले गुनासो गर्नु भयो । ठेकेदार साहले भन्नुभयो, ‘‘साइडमा काम गर्न खटिएका लेबर मिस्त्रिीलाई धम्क्याएर काम गर्न नदिएर भगाइएको छ । धेरै ठाउँमा जग्गा विवाद छ ।’’

उनीहरूलाई ३५ लाख रुपियाँ जतिको काम पेटिठेक्कामा दिएपनि उनीहरूले लफडा गर्न नछोडेको ठेकेदार साहको गुनासो छ । उहाँले भन्नुभयो, ‘‘मैले शान्ति सुरक्षा पाउ भनेर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सडक डिभिजन कार्यालयमा समेत निवेदन दिएको छु । शान्ति सुरक्षा माग्दा पनि कतैबाट पाएको छैन ।’’