लक्ष्मण पौडेल
भैरहवा, माघ २९ गते । सहरी गरिब, सडक व्यवसायी र अनौपचारिक क्षेत्रका बासिन्दाले भोग्नुपरेको समस्या सरकारलाई सुनाउन सामाजिक अभियन्ता ‘ईः’ ले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवीबाट सिंहदरबारसम्मकाे पदयात्रा सुरु गर्नुभएको छ । ईःसँगै अर्का अभियन्ता चाउ पदयात्रामा सहभागी हुनुहुन्छ ।
अभियन्ता ईःले बुद्धको करुणाको सन्देश सरकार समक्ष पुर्याउन मायादेवीबाट पदयात्रा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले यात्राका क्रममा बाटोमा पर्ने ग्रामीण क्षेत्र र सहरमा रहेका सडक व्यवसायी र अनौपचारिक क्षेत्रमा आवद्ध व्यक्तिसित छलफल र अन्तक्रिया गरेर समस्या सङ्कलन गरिने पनि बताउनुभयो । "करुणा र सहानुभूतिका सन्देश सिंहदरबारसम्म पुर्याउन चाहन्छौं," अभियान्ता ईःले भन्नुभयो, "९ दिनसम्म पैदल हिँड्छौं ।"
उहाँले पहिलो दिन सोमबार मायादेवीबाट रुपन्देहीको तिलोत्तमासम्म पुगेर विश्राम गरेको जदानकारी दिनुभयो । अभियन्ता ईः ले त्यसपछि पश्चिम नवलपरासीको सुनवल, नवलपपुरको दुम्कीबास, दलदले, चितवनको रामनगर, कुरिनटार, धादिङको गजुरी, नौबिसे हुँदै फागुन ७ गते सिंहदरबार पुग्ने बताउनुभयो ।
उहाँले यस क्रममा मुख्य तीन माग रहेको पनि जानकारी दिनुभयो । अभियान्ता इः का अनुसार सहरी गरिबको व्यवस्थापन गर्न सरकारले निर्देशन दिनुपर्ने, सहरी गरिबको पक्षमा कार्यक्रम ल्याउनुपर्ने र दीर्घकालीन व्यवस्थापनका लागि कानुन संशोधन गर्न अनुरोध गर्ने बताउनुभयो ।
"सहरी गरिबलाई विस्थापन गर्ने रोग देशव्यापी भयो," उहाँले भन्नुभयो, "त्यसैले समाजमा विपन्नलाई स्थापित गर्न पनि अयिभान जरुरी पर्याे ।" बिहान मायादेवी मन्दिरबाट उहाँहरुले पदयात्रा सुरु गर्नुभएको थियो । दुबै अभियन्तालाई लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले खादा ओढाएर बिदाइ गर्नुभएको थियो । त्यस क्रममा उप्रेतीले पदयात्राका लागि लिएको लक्ष्य र उद्देश्य सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।