• १२ साउन २०८१, शनिबार

भलाकुसारी गर्न शान्ति सङ्ग्रहालय

blog

धनगढी समाचारदाता

धनगढी, माघ २९ गते । एकल महिलाले भलाकुसारी गर्नका लागि कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ स्थित वनकट्टामा शान्ति सङ्ग्रहालय निर्माण गरिएको छ । यस सङ्ग्रहालयमा एकल महिला र द्वन्द्वपीडित जमघट भएर आआफ्ना दुःखसुखका कुरा आपसमा साटासाट गर्ने जनाइएको छ । सङ्ग्रहालयमा डिजिटल बोर्डसमेत लगाइएको छ । 

सङ्ग्रहालयमा आएर एकल महिलालाई एक अर्काबिच भलाकुसारी र दुःखसुख साटासाट गर्न सहयोग पुग्ने मानव अधिकार एकल महिला समूह सुदूरपश्चिम अध्यक्ष सुमन शर्माले बताउनुभयो ।

वडा कार्यालयको आर्थिक सहयोगमा सङ्ग्रहालय भवन निर्माण गरिएको हो । वडा कार्यालयले १० लाख रुपियाँ सहयोग गरेको वडाध्यक्ष प्रेम चौधरीले जानकारी दिनुभयो । 

सङ्ग्रहालयको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले उद्घाटन गर्नुभएको छ । उहाँले एकल महिलालाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाउनुभयो । 

कानुनले एकल महिलालाई केही सुविधा दिन खोजेको मन्त्रीको भनाइ छ, “ती सुविधा त्यति पर्याप्त नहोला तर तपाईंहरूलाई सम्बोधन गर्नु नै ठुलो कुरा हो,” मन्त्री भट्टले भन्नुभयो । 

संविधानले सबैलाई समान अधिकार दिए पनि पुरुषप्रधान समाजका कारण व्यावहारिक रूपमा महिलाप्रति अलि फरक दृष्टिकोण देखिने गरेको मन्त्रीले उल्लेख गर्नुभयो । उहाँले अगाडि थप्नुभयो, “त्यसमा पनि एकल महिलालाई बडो समस्या छ । एकातिर बालबच्चा कसरी हुर्काउने, शिक्षा दिने भन्ने ठुलो समस्या छ । अर्कोतिर घरकै प्रियजनले दुःख दिने प्रवृत्ति हावी देखिएको छ ।”

सोही कार्यक्रममा प्रदेश सभा सदस्य खेमादेवी विष्टले एकल महिलालाई अरू राहतभन्दा पनि अधिकार चाहिएको बताउनुभयो । एकल महिलाका लागि आफूले पहिले सडकबाट लडेको र अहिले सदनमा लडिरहेको उहाँको भनाइ थियो । 

यस्तै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अभिभावकविहीनको दायित्व स्थानीय सरकारले लिने बताउनुभयो । “जसका अभिभावक छैनन्, उनीहरूको अभिभावकत्व स्थानीय सरकारले लिने हो,” उहाँले भन्नुभयो, “हामी नीति बनाएरै एकल महिलालाई सहयोग गर्न तयार छौँ ।”