• २१ वैशाख २०८१, शुक्रबार

नेपालमा ‘पिङ्क टुरिज्म’

blog

प्राकृतिक र जैविक आधारमा मानिसको यौनिक तथा लैङ्गिक पहिचान स्थापित छ । ऐतिहासिक तथ्याङ्क, विश्वव्यापी अध्ययन वा धार्मिक प्रमाणका आधारमा समाजमा विपरीत लिङ्गी वा महिला–पुरुषभन्दा फरक यौनिकता भएको मानिसले पनि जन्म लिएको छ भन्ने पुष्टि गर्छ ।

जन्मँदा बालक वा बालिका जेसुकै भए पनि उमेर बढ्दै गएपछि उनीहरूमा आउने शारीरिक वा मानसिक परिवर्तनले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, ट्रान्सजेन्डर महिला, ट्रान्सजेन्डर पुरुष, अन्तरलिङ्गी, तेस्रोलिङ्गी आदिका रूपमा पहिचान गरिदिएको छ । जसलाई नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (एलजिविटिआइक्यु) का रूपमा परिभाषित गरिदियो । लैङ्गिक पहिचानको कुरा विश्वव्यापी रूपमा स्वास्थ्य सङ्गठनले समेत पुष्टि गरिसकेको छ तर अब लैङ्गिक पहिचान नेपालको पर्यटनसँग गाँसिन पुगेको छ । दक्षिण एसियामै नेपालको संविधान उदार मात्र बनेन, लैङ्गिकताका आधारमा विभेद गर्न नपाउने आधार खडा भएको छ । जसका कारण नेपाल बिस्तारै ‘पिङ्क टुरिज्म’, ‘रेन्बो टुरिज्म’ अर्थात् इन्द्रेणी पर्यटनको हब बन्ने तरखरमा  छ ।

गुलाबी वा इन्द्रेणी रङलाई साझा रङका रूपमा स्विकारिएका कारण पिङ्क टुरिज्मको अवधारणा विश्वव्यापी रूपैमै फस्टाउँदो छ । पछिल्ला वर्षहरू नेपालमा पिङ्क टुरिस्टका लागि सहज गन्तव्य बनेको भन्दै प्रवर्धन सुरु गरिएको छ । व्यवसायी र सरकारले समेत पिङ्क टुरिज्मलाई प्राथमिकता दिएका छन् ।

प्रगतिशील कानुन र उदार मनोवृत्ति भएका देशहरू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक यात्रुका लागि आश्रयस्थान बनिरहेका बेला नेपालमा पनि प्रतिनिधि पात्रका रूपमा परिभाषित गरिएको छ । जसका कारण नेपालले स्पेन, थाइल्यान्ड, ताइवान, भियतनाम, इन्डोनेसिया, अस्ट्रेलियामा जस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिलाई पर्यटकका रूपमा भिœयाएर अर्थतन्त्रमा नयाँ इँटा थप्ने अभ्यास सुरु गरेको छ । नेपालको सङ्घीय संसद्मा सहभागी भइसक्नुभएका एसियाका पहिलो समलिङ्गी सभासद् सुनीलबाबु पन्तका अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटक नेपालका पर्यटकीय गन्तव्यलाई सुरक्षित र स्वागतयोग्य ठान्छन् । उनीहरू समावेशितालाई ध्यान दिन्छन् र आफ्नोपनको भावना व्यक्त गर्छन् । त्यसैले नेपालले विश्वव्यापी रूपमा फस्टाउँदै गएको पिङ्क टुरिज्मको अवधारणामा काम गर्न सक्नु पर्छ । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक संस्कृति, कला र समाजमा रमाउने भएकाले पर्यटनको माध्यमबाट स्थानीय अर्थतन्त्रलाई बढावा दिन, स्थानीय प्रतिष्ठानहरूका लागि व्यापार बढाउन र रोजगारी सिर्जना गर्न मद्दत गर्दै ‘पिङ्क मनी’ भिœयाउन सहयोगी बन्न सक्छन्,” उहाँले भन्नुभयो । त्यसैले नेपालका हरेक तहले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिलाई केन्द्रित पर्यटकीय गतिविधि, मेला, महोत्सव आयोजना गर्दै समावेशिता र विविधतालाई बढावा दिन सक्नुपर्ने पन्तको सुझाव छ ।

“नेपालमा २३ वर्ष लगाएर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार प्राप्त भएको छ । छिमेकी देशहरू भारत र चीनमा अधिकार नपाएको समलिङ्गी विवाह दर्ताका कारण दक्षिण एसियामा पहिलो देश बनेको छ । विश्वभर नेपालको सकारात्मक सन्देश फैलिएको छ । अब आर्थिक र पर्यटकीय रूपमा अगाडि बढ्न हामी सबैले भूमिका खेल्नु पर्छ,” पन्तले भन्नुभयो । 

उत्साहित व्यवसायी

नेपाल पर्यटन बोर्डले सस्टेनेबल टुरिज्म फर लाइभलीहुड रिकभरी परियोजना (एसटिएलआरपी) अन्तर्गत युएनडिपी नेपालको सहयोग तथा नेपाल माउन्टेन एकेडेमीसँगको सहकार्यमा नेपालको इतिहासमै ३५ दिने ट्रेकिङ गाइड कक्षा गत वैशाख २३ गतेदेखि जेठ २६ गतेसम्म सञ्चालन ग¥यो । जसमा ब्लु डाइमन्ड सोसाइटीका २५ जना यौनिक तथा अल्पसङ्ख्यक समुदाय (एलजिबिटिआइक्यु) का व्यक्तिहरू सहभागी हुनुभयो । तालिमको उद्देश्य समुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउने, विश्वबाट आएका एलजिबिटिआइक्यु पर्यटकलाई समुदायकै गाइडबाट सेवा दिने थियो ।

“धेरै जसो एजेन्सी, पर्यटन व्यवसायी र सरकारका प्रतिनिधिहरूले समेत नेपालमा भिन्न यौन झुकाव तथा लैङ्गिक पहिचान भएका पर्यटक आउने गरेको र उनीहरूले भिन्न पहिचानकै गाइडहरू खोज्ने गरेको सुनाउनुहुन्थ्यो । अब तालिम लिइसकेपछि त्यस्ता पर्यटकका लागि आफ्नै समुदायका व्यक्ति गाइड भए यात्रा सहज हुने अपेक्षा गरेका छौँ,” सोसाइटीकी अध्यक्ष पिङ्की गुरुङले भन्नुभयो ।

नेपालमा पछिल्ला वर्षहरू पर्यटकीय दृष्टिकोणले फलदायी बन्न थालेपछि ट्रेकिङ, टुर एवं ट्राभल एजेन्सीहरूले एलजिविटिआइक्युमैत्री सेवा पनि सुरु गरेका छन् । आफ्नो प्याकेजमा एलजिविटिआइक्यु गाइड समावेश गर्ने र विदेशीलाई नेपाल घुम्न आउन प्रेरित गरिरहेका छन् । नेपालका व्यावसायिक एजेन्सीमार्फत अग्ला हिमाल र सगरमाथा आरोहण गरेका कतिपय आरोहीले एलजिविटिआइक्युको साझा इन्द्रेणी झन्डा चुचुरोमा फहराएर नेपाल एलजिविटिआइक्युमैत्री घुम्नलायक देश भनेर सार्वजनिक रूपमै सन्देश प्रवाह गरिरहेका छन् ।

सन् २०१३ मा अमेरिकी समलिङ्गी नागरिक केसन क्रेनले सगरमाथा आरोहण गरेर इन्द्रेणी झन्डा फहराएर विश्वमा नौलो सन्देश फैलाउनुभएको थियो । सन् २०१० मा सुरु भएको समलिङ्गी ट्राभल एजेन्सी ‘पिङ्क माउन्टेन’ ले पिङ्क टुरिज्मलाई प्रवर्धन गर्ने प्रयास गरिरहेको छ । अभियन्ता पन्तले पिङ्क टुरिज्मलाई प्रवर्धन गर्न प्रत्येक शनिबार ठमेलबाट सम्पदा पदयात्रा सञ्चालन गरिरहनुभएको छ ।

पन्तकै अगुवाइमा जनवरीमा बृहत् कार्यशाला गरिएको थियो भने मार्चमा ‘यात्रा टु ह्यापिनेस’ भन्ने नाराका साथ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुँदै छ । पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाका अनुसार यौनिक तथा लैङ्गिक समुदायको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनले नेपाल पिङ्क टुरिज्मको भरपर्दो गन्तव्य रहेको सन्देश दिने छ । “विश्वको अर्थतन्त्रमा महìवपूर्ण हिस्सा ओगट्ने गरेको पिङ्क टुरिज्मका लागि वा समुदायका व्यक्तिहरूका लागि नेपाल उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न यस्ता खाले सम्मेलन आवश्यक छ,” उहाँले भन्नुभयो ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) की सचिव युविका भण्डारी पिङ्क टुरिज्मका लागि दक्षिण एसियामै नेपाल अब्बल गन्तव्य बन्न सक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कानुनी रूपमा नेपाल बढी स्वतन्त्र छ । एलजिविटिआई पर्यटक हाम्रो देशलाई बढी सुविधायुक्त मान्छन् । अब निजी क्षेत्रका व्यवसायीहरूले छिटपुट रूपमा सोही अनुसारका प्याकेज बनाउन थालेका छन् । बिस्तारै यो अवधारणामा सबैले काम गर्नु पर्छ ।”

पिङ्क टुरिज्मको अर्थ

पिङ्क टुरिज्म अर्थात् एलजिविटिआइक्युमैत्री पर्यटन भनेको नेपालको संविधानले परिभाषित गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रका व्यक्तिहरूलाई घुम्न वा यात्रा गर्न सहज बनाउनु हो । कतिपय देशमा समान लिङ्ग भएका व्यक्तिहरू वा समलिङ्गी÷तेस्रोलिङ्गीलाई हिँडडुल गर्न, सँगै बस्न र विवाह गर्न बन्देज गरिएको छ तर नेपालमा कानुनी र सामाजिक रूपमै यस्ता व्यक्तिका लागि स्वतन्त्रता प्रदान गरिएको छ ।

खासमा पिङ्क पर्यटकका लागि बोलिने भाषा, शब्द र सम्बोधन, गरिने व्यवहारले ठुलो अर्थ राख्छ । किनकि सामान्य महिला र पुरुषलाई सम्बोधन गर्दा प्रयोग हुने शब्द र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई गरिने सम्बोधन फरक हुने भएकाले सोही अनुसारका गाइड आवश्यक ठानिन्छ । यस्ता पर्यटक आफ्नै समुदायका व्यक्तिहरू गाइड भएको खण्डमा यात्रा गर्न, होटलमा बास बस्न सहज मान्छन् र खर्च गर्न अप्ठ्यारो मान्दैनन् । 

अभियन्ता पन्त भन्नुहुन्छ, “खासमा यस्ता पर्यटक आफूलाई भेदभाव भएको अनुभव गर्न रुचाउँदैनन् । सुरक्षित र गोप्य रूपमा बास बस्न रुचाउँछन् । नेपाल यस्ता पर्यटकलाई उपयुक्त गन्तव्य हो र यसको प्रवर्धन गर्न ढिला भइसकेको छ ।” विश्वका विभिन्न देशबाट नेपाल घुम्न आएका एलजिविटिआइक्यु समुदायका पर्यटकलाई पथ प्रदर्शक वा गाइडका रूपमा काम गरिरहनुभएका आयाम पौडेल नेपाल सरकारले पिङ्क टुरिज्मलाई प्रवर्धन गर्न सके ठुलो सफलता हासिल गर्नसक्ने बताउनुहुन्छ । 

“नेपालका सांस्कृतिक सम्पदाहरू, भगवान्का आकृतिहरू र मूर्तिहरू फरक लैङ्गिक पहिचान पारूपमा निर्माणमा भएका छन् । कामसूत्र, टुँडालहरूको आकृति हेरेर नेपाल एलजिविटिआइक्युमैत्री छ भन्ने सन्देश मात्र दिइरहेको छैन, नेपालको कानुन पनि लैङ्गिकमैत्री रहेकाले त्यस्ता पर्यटक बढी रोमान्चित हुने गरेका छन्,” उहाँले आफ्नो अनुभव सुनाउनुभयो । नेपाल आएका फरक यौनिक पहिचान भएका पर्यटक लुगा लगाउन, हिँडडुल गर्न, बोलचाल गर्न, बास बस्न र यौनिक गतिविधि गर्न कुनै रोकतोक नहुने भएकाले सहज महसुस गर्ने गरेका उहाँ बताउनुहुन्छ । 

विश्वको अभ्यास

स्वदेशकै नागरिक र विदेशबाट आएका पर्यटकलाई गरिएको व्यवहारले एलजिविटिआइक्यु समुदायका व्यक्तिहरूले विभेदविरुद्ध विद्रोह गरेर विश्वमा भिन्न आन्दोलनको सुरुवात नै गरेका उदाहरणहरू छन् । त्यस्ता विद्रोहले समाज मात्र होइन, विदेशी पर्यटकलाई पनि घुम्न सहज बनाइदिएको दृष्टान्तहरू पाइन्छ । 

प्रत्येक वर्षको जुन २८ तारिखलाई युरोपलगायत विश्वभर विशेष दिन मान्ने गरिएको छ । युरोपमा क्रिस्टोफर स्ट्रिट लिबरेसन डे (सिडिएस) विशेष दिनका रूपमा विभेदविरुद्धको विद्रोह भएको दिन मान्ने गरिन्छ । उक्त दिनलाई जर्मनी र स्विट्जरल्यान्डमा ‘गे परेड’ भनिन्छ भने अस्ट्रियामा ‘रेन्बो परेड’ भन्ने गरिन्छ । १९६९ जुन २८ मा स्टोनवेल रायट्सले अमेरिकाको स्टोनवेल वारबाट सुरु गरेको विद्रोह पुलिस आक्रमणविरुद्ध एलजिविटिआइक्यु व्यक्तिहरूको ठुलो विद्रोह थियो । यस्ता विद्रोहहरूले युरोप, अमेरिका, अस्ट्रेलियामा पर्यटन क्षेत्रलाई थप बढावा दिएको अध्ययनहरूले देखाएको  छ ।

Author

युवराज गौतम