• २३ वैशाख २०८१, आइतबार

अमेरिकाको अक्षरधाम

blog

सनातनी धर्मावलम्बीलाई गर्व महसुस हुने गरी क्रिस्चियन धर्मको बहुलता रहेको अमेरिकाको न्युयोर्कनजिकै न्युजर्सी राज्यको रविन्सभिलमा एक भव्य र अद्भुत विशाल हिन्दु मन्दिर निर्माण सम्पन्न भएको छ । स्वामीनारायण अक्षरधाम हिन्दु मन्दिरका रूपमा रहेको यो अमेरिकामा बनेको सर्वाधिक ठुलो हिन्दु मन्दिर हो भने विश्वमै कम्बोडियाको अङ्कोरवाटपछिको दोस्रो विशाल हिन्दु मन्दिर । केही समयअघि उद्घाटन भएको यो मन्दिर निर्माण सुरु भएको १२ वर्षपछि सम्पन्न भएको हो । 

यो मन्दिर पश्चिमा देशमा हिन्दु संस्कृति, परम्परा, यसको वैभव र पुरातìवको पहिचान गराउने गरी भारत र नेपालबाहिर सर्वाधिक सनातन धर्मावलम्बीको उपस्थिति रहेको अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा स्थापना गरिएको हो । यो मन्दिरको उद्घाटन समारोह विशेष थियो । मन्दिरका प्रमुख स्वामी महाराजको समुपस्थितिमा भएको उद्घाटन समारोहमा विश्वशान्ति, सहभाव र समभावको कामना गर्दै यज्ञ, होम, प्रार्थना र शान्तिपाठ गरिएको थियो । त्यस अवसरका न्युजर्सी, मेरिल्यान्ड र पेन्सिलभेनियाका सिनेटरहरू, प्रतिनिधिहरू, भारतीय राष्ट्रिय सभाका सदस्यहरू, न्यूजर्सीका महान्यायाधिवक्तालगायत करिब २० हजारको सङ्ख्यामा सनातन धर्मावलम्बीको उपस्थिति रहेको कुरा अमेरिकाका विभिन्न पत्रपत्रिकाले जनाएका छन् । 

धर्म, अध्यात्म र पर्यटनका दृष्टिकोणले महत्वपूर्ण मानिएको यो मन्दिर अक्षरधाम पुरुषोत्तम महाराजका रूपमा परिचित स्वामीनारायण र गुणातिनन्द स्वामीको नामबाट राखिएको हो । भगवान् श्रीकृष्णका अनुयायी तथा नैतिक, अहिंसा र सामाजिक भलाइको वकालत गर्ने सहजानन्द स्वामी नै स्वामीनारायणका रूपमा रहनुभएको छ । उहाँले नै सन् १९९० तिर न्युजर्सीमा स्वामीनारायणको मन्दिर बनाउने योजना बनाउनुभएको हो । उहाँहरूसहित हिन्दु देवीदेवताहरू मूलतः राधाकृष्ण, सीताराम, शिवपार्वती, लक्ष्मी, सरस्वती, श्रीगणेश र हनुमानको मूर्ति प्राणप्रतिष्ठा गरेर राखिएको छ त कतै शिवको नटराज नृत्य । 

हिन्दु शास्त्रका अनुसार यसरी प्राणप्रतिष्ठा गरेपछि यिनमा दैवीय शक्ति प्रादुर्भाव हुन्छ भन्ने विश्वास छ । यहाँ प्रत्येक दिन अमेरिकाका विभिन्न राज्यबाट हजारौँ श्रद्धालु भक्तजनको दर्शनार्थ भिड लाग्ने गरेको छ । यस अतिरिक्त सनातन धर्मावलम्बी इतरका हजारौँ क्रिस्चियन र मुस्लिम पनि यो मन्दिर अवलोकनका लागि आउने गरेको मन्दिर व्यवस्थापनले जनाएको छ । गत हप्ता मात्र यो मन्दिरको दर्शनार्थ जानुभएका दी राइजिङ नेपालका पत्रकार कृष्ण शर्मा यसको अलौकिकता र वैभवता देखेर दङ्ग हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म कुनै दिन साथीभाइसँग फोन वा अरू सम्पर्कका माध्यममा भेटिइन भने म स्वयंसेवाका लागि त्यही मन्दिरमा हुन्छु ।

यो मन्दिरले हाम्रो पूर्वीय संस्कार, यसको विशिष्टता र प्राचीन सभ्यताको झल्को दिन्छ ।” उहाँले यहाँ अरू धर्मावलम्बी पनि स्वयंसेवा गरिरहेको उल्लेख गर्नुभयो । यो मन्दिरमा दैनिक पूजापाठ, आराधना र पाँच पटक आरती हुने गरेको कुरा मन्दिर व्यवस्थापनले जनाएको छ । देवीदेवतालाई दैनिक चढाइएको फलफूलहरू यहाँ आउने श्रद्धालु भक्तजनलाई प्रसादका रूपमा वितरण गरिन्छ । त्यसो त स्वामीनारायणका मन्दिरहरू अमेरिकाका सबैजसो राज्यका करिब एक सय प्रमुख स्थानमा स्थापित छन् । यस्ता मन्दिरले हिन्दु धर्मावलम्बीको धार्मिक आस्था र विश्वासलाई थप मजबुत बनाएको पाइएको छ । 

ग्रेनाइट, मार्बल र स्यान्डस्टोन जस्ता बहुमूल्य ढुङ्गा र प्रयोग गरी बनाइएको प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिर १८० एकड जमिन क्षेत्रफलमा फैलिएको छ । यो मन्दिरको भित्ता तथा सिलिङमा सानाठुला गरी १० हजार मूर्ति जडित छन् र यो मन्दिरको सर्वाधिक अग्लो भाग १९१ फिट छ । स्थापत्यशास्त्र र शिल्पशास्त्रलाई ध्यानमा राखेर निर्माण गरिएको मिहिन कालीगडीपूर्ण यो मन्दिरमा मुख्य भाग, १२ वटा सहायक मुख्य र नौ वटा प्यागोडा शैलीका शिखर समावेश गरिएको छ । यो भव्य मन्दिर एसियाबाहिर सर्वाधिक मानिसले दर्शन गरेको स्थान पनि हो । यो मन्दिर प्रवेश गर्दा एउटा अलौकिक देवस्थलमा पुगेको भान हुन्छ । शान्त र सौम्य । मन्दिरका कुनाकुनामा बलेका मधुर बत्तीले यसको रौनकता थपेका छन् । मन्दिरको भित्ता, सिलिङ तथा भुइँमा बिछ्याइएका ढुङ्गा, ग्रेनाइट तथा मार्बलमध्ये ६८ हजार क्युविक फिट इटालीको प्रसिद्ध मार्बल निर्माण कम्पनी काराराको प्रयोग भएको छ भने बुल्गेरिया, चीन, ग्रिस, इटाली, टर्की र स्वयम् भारतको राजस्थानबाट पनि ल्याइएका मार्बलहरूले यसको विविधता छरेका छन् । 

मन्दिर निर्माणका क्रममा यसको रूपरेखा, यसको इन्जिनियरिङ, कलाकौशल, कालीगडी, साइट निर्माण, बिजुलीबत्ती जडान, रङरोगन, सरसफाइ, खानपान, स्वास्थ्योपचार आदि विविध काममा सुरुवाती क्रममा स्वयंसेवकले पनि प्रशस्त समय दिएका थिए । मन्दिर व्यवस्थापनका अनुसार मन्दिर निर्माण सम्पन्न गर्न करिब १३ हजार स्वयंसेवीलाई झन्डै ५० लाख घण्टा लागेको थियो भने यसको निर्माण सम्पन्न हुँदासम्म करिब १० करोड डलर खर्च लागेको मन्दिर व्यवस्थापनले जानकारी दिएको छ ।  मन्दिरभित्र क्याफ्टेरिया, सानो सिनेमा घर, उपहार घर आदि पनि छन् । मन्दिरको यत्रतत्र भित्ताहरूमा वेद, उपनिषद् र रामायणका मन्त्र, उक्ति तथा सुक्ति कुँदिएका छन् । त्यस अलावा मार्टिन लुथर किङ र आइन्सटाइनका वाणीहरू पनि समावेश छ । अमेरिकी सङ्घीय सरकार तथा राज्य सरकारले पनि मन्दिरका लागि सहयोग र समर्थन गरेको बताउँदै मन्दिरका प्रवक्ता रोनक पटेलले सहअस्तित्व र समभावको यो अनुपम उदाहरण हो भन्नुभयो । 

यो मन्दिरको बिचमा विशाल मण्डप छ । हात्ती र मयूरले घेरिएको यो मण्डप ८७ फिट चौडाइ, १३३ फिट लम्बाइ र ४२ फिट अग्लोे छ । त्यस्तै यसको बिचमा ब्रह्म कुण्ड निर्माण गरिएको छ, जहाँ अमेरिकाका सबै राज्य, भारतको मुख्य मुख्य नदी र विश्वभरका मुख्यमुख्य तीन सय वटा खोला वा नदीको पानी मिसाइएको छ । मन्दिर प्रवेशद्वारसँगै स्वामीनारायणको ४९ फिट अग्लो योगा गरेको मूर्ति देख्न सकिन्छ । 

मन्दिर निर्माणका क्रममा व्यवस्थापनले आफूहरूको श्रम शोषण गरेको, धेरै काम लगाएर न्यून ज्याला दिएको र मानव ओसारपसार गरेको भनेर छ जना भारतबाट ल्याइएका श्रमिकले अमेरिकाको सङ्घीय अदालतमा मुद्दा दायर गरेपछि अनुसन्धानको सिलसिलामा केही वर्ष यसको मुख्य काम अवरोध भएको थियो । यस्तो उजुरी परेपछि सम्बन्धित मन्त्रालयका प्रतिनिधिले यो स्थानमा गएर सत्यतथ्य बाहिर ल्याउनका लागि अनुसन्धान गरिरहेका छन् । मन्दिरका प्रवक्ता पटेलले भने यी श्रमिकलाई पारिश्रमिक दिएर काम गर्नका लागि नभई स्वयंसेवाका लागि ल्याइएको भनेर वकालत गरिरहेका छन् । 

 

Author

कृष्णराज खनाल