• १२ वैशाख २०८२, शुक्रबार

व्यक्तिका नाममा दर्ता गरिएको जग्गा सार्वजनिक कायम

blog

व्यक्तिका नाममा दर्ता गरिएको घाटको जग्गा । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, माघ २६ गते । भू-माफियाले आफ्नो नाममा बनाएको शवदहन स्थलकोे सार्वजनिक जग्गा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक नै कायम गर्ने निर्णय गरेको छ । सिद्धार्थनगर नगरपालिका-१० स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक घाघरा खोला छेउमा रहेको पितृ विसर्जन स्थल (मसान घाट) को सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो ।

साविक भुजौली ७ (क) को कित्ता नम्बर ६१ को एक बिघा ११ कट्ठा पाँच धुर सार्वजनिक जग्गा अर्घाखाँचीको साविक मैदान गाविस-५ बस्ने फर्शुराम घिमिरेको नाममा दर्ता भएको थियो । सार्वजनिक र मसानघाटको जग्गा व्यक्तिका नाममा दर्ता गरिएपछि यसको आलोचना भएको थियो । यसबारे जिल्ला प्रशासनले छानबिन थालेको थियो । छानबिनपछि जग्गा सार्वजनिक भएको ठहर गर्दै कम्प्युटर इन्ट्रीबाट लगत हटाउन भनिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुधबार टिप्पणी आदेश उठाएर उक्त मसानघाटको जग्गा पूर्ववत् अवस्थामा कायम राख्ने निर्णय गर्नुभएको हो । अर्यालका अनुसार विभिन्न कागजात र अनुसन्धानका क्रममा जमिन सार्वजनिक भएको हो । अर्यालले उक्त जग्गा अब बाँकी दर्ता प्रक्रिया अगाडि नवढाउन र स्वामित्व (सार्वजनिक) यथास्थितिमै राखी कुनै व्यक्ति तथा सङ्घसंस्थाको नाममा स्वामित्व कायम हुने गरी थप श्रेस्ता कायम नगर्न, जग्गा धितो, रजिष्ट्रेशन, अंशबण्डा लगायतका कारोवार नगर्न मालपोत कार्यालयलाई पत्राचार गर्ने निर्णय गर्नुभएको छ ।

हालसम्म भए गरेका कार्यहरु गैरप्रशासनिक एवम् अनुचित तवरले गरेको देखिएकोले; उप्रान्त उक्त जग्गाको राजश्व नलिन र कम्प्यूटर प्रविष्टि हटाउन पनि प्रमुख जिल्ला अधिकारी अर्यालले मालपोत कार्यालयलाई निर्देशन दिनुभएको छ । ‘तयार भएको (श्रेस्ता) रद्द गरी सो को जानकारी दिन सम्बन्धित कार्य प्रकृतिसँग सम्बन्धित निकायहरुमा लेखी पठाउने’, टिप्पणी आदेशमा भनिएको छ।

यस्तै, उल्लेखित जग्गाको विषयमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई सुरुवातमै स्राेतमै निरुत्साहित गर्न जग्गालाई तारबार गरी छुट्टयाउने, सर्वसाधारणले देख्ने गरी ‘सार्वजनिक जग्गा’ को सूचना पाटी राख्न लगाउने लगायतका संरक्षणात्मक कार्य गर्न सिद्धार्थनगर नगरपालिकालाई लेखी पठाउने पनि टिप्पणी आदेशमा उल्लेख छ । प्रजिअ अर्यालले गरेको निर्णयमा ‘प्रस्तुत निर्णयको कार्यान्वयनको सुनिश्चितता लागि सूक्ष्म तवरले अनुगमन गर्ने, यस कार्यमा संलग्न व्यक्ति तथा पदाधिकारीलाई कारवाही गर्न गराउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने’, भनिएको छ । अर्यालले यो प्रकरणमा संलग्न सबैलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिएको बताउनुभयो ।

मसान घाटको जग्गा आफ्नो नाममा बनाउने घिमिरेको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिएको देखिए पनि मालपोतबाट भने २०७१ सालमा घिमिरेका नाममा दर्ता गरिएको थियो । मालपोत कार्यालय बुटवलबाट ०७१ सालमा उक्त जग्गा घिमिरेका नाममा कम्प्युटरमा इन्ट्री भएको पाइएको थियो । घाटको जग्गा व्यक्तिका नाममा गएको जानकारी पाएपछि स्थानीयले विभिन्न ठाउँमा उजुरी दिएका थिए । त्यसपछि प्रशासनले छानबिन सुरु गरेको थियो । छानबिनपछि सार्वजनिक जग्गा भएको यकिन भएको र जग्गा रद्द गर्न आदेश गरिएको प्रशासनले जनाएको छ ।