• १३ साउन २०८१, आइतबार

पुनर्स्थापित हुँदै हात्तीपाइले र कुष्ठ रोगी

blog

रोग निको भएका कपिलवस्तुका कुष्ठरोगीहरु । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, माघ २४ गते । रोगीलाई लक्षित गरी हेरचार समूह निर्माण गरिएपछि कपिलवस्तुका कुष्ठ रोगी र हात्तीपाइले भएकाहरू लाभान्वित भएका छन् । समुदायमा रोग सर्न नदिन स्वास्थ्य कार्यालय कपिलवस्तुले रोगीलाई लक्षित गरी समूह निर्माण गरेको हो । 

ती समूहमा स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाले सहयोग गरेपछि रोगीहरूलाई पुनस्र्थापना गर्न सहज भएको स्वास्थ्य कार्यालयका अधिकृत मो. इरफानले बताउनुभयो । 

हेरचार समूहले रोगीहरूलाई सङ्गठित गरी उपचारमा सहज बनाएपछि पालिकामा रोग सङ्क्रमणको दर घटेको विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । पालिका र सङ्घ संस्थाको सहकार्यमा उहाँहरूलाई सरसफाइका सामग्री, विभिन्न तालिम र पुनस्र्थापनाका लागि पालिकाले बजेट विनियोजन गरेको अध्यक्ष थापाले बताउनुभयो ।

जिल्लामा १६ वटा स्वयम् हेरचार समूह गठन भएको छ । समूहमा कुष्ठ रोगी, हात्तीपाइलेका बिरामी, अपाङ्गता भएका र विपन्नलाई समावेश गरिएको छ । ती समूहमा १ सय ७८ कुष्ठ रोगी, ९० हात्तीपाइले, २७ अपाङ्गता भएका र २० जना विपन्न आबद्ध रहेको उष्णप्रदेशीय रोग नियन्त्रणका कार्यरत कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रका कार्यक्रम अधिकृत निशान कुँवरले बताउनुभयो । 

समुदायमा थुप्रै कुष्ठ रोगी लुकेर बसेका थिए । एकले अर्कालाई चिनेका थिएनन् । कसैले थाहा पाउला र समाजबाट तिरस्कार पाइएला भन्ने डर लिएर बाँचेका हामीजस्ता कुष्ठ रोगी समूहमा आबद्ध भएपछि जीवनमा खुसी थपिएको विजयनगर मगरघट्टाका दुर्गालाल बस्यालले बताउनु भयो । 

समूहले उहाँहरूलाई आत्मनिर्भर हुन सिकाएको छ । घुम्ती कोषमार्फत लघु उद्यम कर्जा उपलब्ध गराइएको छ । फेयरमेडको सहयोगमा कालिकासँग समन्वय गरी आय आर्जनका लागि तालिम तथा सामग्री सहयोग पाउनु भएको छ । कोष परिचालन गरी कृषि, उद्यम र व्यापारमा लगानी गरिएको छ । दाउरा बेच्दै आएका विजयनगर गाउँपालिका –२ मौवावारिका चन्द्रादेवी बिक दम्पतीले भैँसीपालन गर्नुभएको छ । बस्यालले आधुनिक तरिकाबाट गाईपालन गर्नुभएको छ ।  

शुद्धोधन गाउँपालिका –४ विठुवाका इन्द्रावती र श्रीमान् रामनारायण यादवले कुष्ठरोग लागेको समुदायमा हल्ला चलेपछि डेढ वर्ष गोठमा कष्टकर जीवन बिताउनुभयो । पूर्वजन्मको पाप भन्दै समुदायले बाहिर निस्किन नदिएको यादव दम्पतीको गुनासो छ ।