राँझा (बाँके), माघ २४ गते । बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
“यो अभियान जीवनसँग जोडिएको अभियान हो, सडक दुर्घटना न्यूनीकरणका लागि सबैको चासो हुनु जरुरी छ”, उहाँले भन्नुभयो, “हामीकहाँ राजमार्गको अवस्था उस्तै छ तर सवारीसाधन भने बढेको बढ्यै छन् त्यसैले यो अभियान गर्न जरुरी छ ।” प्रहरी निरीक्षक सुवेदीले यो अभियानमा सवारी चालक, पैदलयात्रीलगायत सरोकारवाला सबैलाई नैतिक शिक्षा सिकाउनुका साथै ट्राफिक नियम पालनका लागि जागृत गराउने बताउनुभयो ।
बाँकेमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ५७ सवारी साधनको दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो । यी दुर्घटनामा परी ४२ जना सख्त घाइते भएका र उनीहरूमध्ये केहीको अझै पनि उपचार भइरहेको जनाइएको छ । प्रहरी निरीक्षक सुवेदीले मादक पदार्थ सेवन, लापरबाही र तीव्रगतिको सवारीसाधनका कारण दुर्घटना बढ्दै जानका साथै अनाहकमा निर्दोषको ज्यान जाने गरेको बताउनुभयो ।
बाँकेमा गत आर्थिक वर्षमा एक सय २४ सडक दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको र एक सय २९ जना घाइते भएका थिए । दुर्घटनामा परेर १० वटा पशुचौपाया मरेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारीझै बढिरहेकाले यसलाई रोक्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष राईले दसवर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका भन्दा बढी सडक दुर्घटनामा नेपाली नागरिकले ज्यान गुमाइरहेका छन् भन्दै देशमा प्रत्येक दिन सातदेखि आठजना र वर्षमा सडक दुर्घटनामा परेर सरदर दुई हजार आठ सय ८० जनाले ज्यान गुमाउनुका साथै प्रत्येक वर्ष १४ हजार चार सय व्यक्ति घाइते भइरहेका छन् भन्नुभयो । “सडक पूर्वाधार निर्माण सुस्त छ, नयाँ ढङ्गले काम हुनसकेको छैन”, अध्यक्ष राईले भन्नुभयो, “सडक दुर्घटनाको कारण चालकलाई देखाएर राज्य पन्छिने गरेको छ ।”
सडकमा पूर्वाधार अभाव र मानवीय त्रुटिका कारण बढीजसो हुने दुर्घटना रोक्न सबैको दायित्व रहेको उल्लेख गदै उहाँले यातायात मजदुरलगायत राज्यका सबै निकायले आ-आफ्नो क्षेत्रबाट भएका कमीकमजोरी सच्याएर दुर्घटनाको विकराल अवस्थालाई कम गर्न हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष राईले सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले बाँकेसहित देशभर सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन सुरु गरेको बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वमा यातायात व्यवसायी, मजदुरसहितको पाँच सदस्यीय सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । रासस