• ६ माघ २०८१, आइतबार

देखिन छाडे सुगा र मैना

blog

विजयकुमार साह 

ढल्केबर, माघ २१ गते  । धनुषालगायत तराईका जिल्लामा कुनै समय खेतबारीको अन्नबाली खाएर किसानलाई हैरान बनाउने तथा घरआँगनमै आइपुग्ने सुगा र मैना हिजोआज देखिन छाडेका छन् । तराईका घरआँगन र खेतबारीमा सहजै देखिने यी पन्छी आहार र सुरक्षित बासस्थानको अभावका कारण तराईका दक्षिणी भूभागबाट विस्थापित भइरहेकाले देखिन छाडेको हो ।

यी दुवै प्रकारका पन्छीलाई सानैदेखि पालेर बोल्न सिकाएमा केही शब्द नक्कल गरी मानिस झैँ बोली निकाल्न सक्छन् । सुगा प्रजाति अनुसार विभिन्न रङका हुन्छन् तर नेपालमा पाइने सुगा प्रायः हरियो रङको हुन्छ । सुगा प्रायः ठुलो समूहमा रहन्छन् । त्यस्तै मैनाको चुच्चो र खुट्टा पहेँलो तथा शरीरको भाग कालो रङको हुन्छ । नेपालका केही स्थानमा मैनालाई रुपी र केही स्थानमा डाङ्ग्रे भनेर पनि चिनिन्छ । 

धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले केही वर्षअघिसम्म मकैलगायतका अन्नबाली खाएर दुःख दिने सुगा हिजोआज देखिन छाडेको बताउनुभयो । “किसानले लगाएको मकै सुगाको बथानले खाएर सखाप बनाउँथे । सुगा धपाउनकै लागि एक जनाले दिनभर खेतमा पहरा दिनुपर्दथ्यो । उहाँले भन्नुभयो, “जताततै देखिने सुगा र मैना कता हराए हराए ।” चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्यरत मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले सुगा र मैना तराईबाट पूर्ण रूपमा लोप नभए पनि पहिलाको तुलनामा निकै कम देखिने गरिएको बताउनुभयो । प्राकृतिक रूपमा भेटिने आहार र बासस्थान मासिँदै गएपछि यी पन्छी चुरे क्षेत्रतर्फ बसाइँ सर्दै गएको उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष मण्डल भन्नुभयो, “वरपिपल, शमी, पाखर, जामुनजस्ता रुख चराचुरुङ्गीका लागि सुरक्षित बासस्थान र प्राकृतिक रूपमा आहार उपलब्ध हुने रुख हुन् । विकासका व्रmममा बन्ने बाटोघाटो र पक्की घर निर्माणका कारण ती प्रजातिका रुख मासिँदै गएकाले सुगा, मैनालगायत थुप्रै प्रजातिका चराचुरुङ्गी तराईबाट हराउँदै गएका छन् ।” उहाँले जलवायु परिवर्तन पनि एक कारण भएको बताउनुभयो । जलवायु परिवर्तनका कारण तापव्रmम वृद्धि, सिमसार तथा नदीनालामा पानी सुकेकाले थुप्रै प्रजातिका चराचुरुङ्गी तराईबाट लोप भइरहेको उहाँको भनाइ छ । नेपालमा हाल चोरी सिकार तथा विभिन्न कारणले गर्दा ५७ प्रतिशत चरा कम भएको र २२ प्रजातिका चरा लोप भइसकेको अध्यक्ष मण्डलले बताउनुभयो । 

यस्तै पर्यावरण संरक्षण अभियन्ता तथा मधेश प्रदेश वन निर्देशनालयका वन अधिकृत सुरेश शर्माले रुखबिरुवा मासिँदै जानु, बढ्दो ध्वनि, धुवाँ र माटो प्रदूषणका कारण सुगा, मैनालगायतका चराचुरुङ्गी लोप हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले चराचुरुङ्गीका लागि सुरक्षित बासस्थान र प्राकृतिक रूपमा आहार उपलब्ध हुने उद्देश्यले तीन वर्षको अवधि पाँच हजारभन्दा बढी वरपिपल, शमी र पाखरका बिरुवा रोपेको जानकारी दिनुभयो । सो बिरुवा हुर्केपछि चराचुरुङ्गीको बासस्थान, आहार र पर्यावरण स्वच्छतामा सहयोग उहाँको भनाइ छ । 

यसै गरी अर्का पर्यावरण अभियन्ता तथा मधेश प्रदेशका सभा सदस्य रामअशिष यादवले खेतबारीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले चराचुरुङ्गीको जीवन सङ्कटमा पर्दै गएको बताउनुभयो । त्यसलगायत गाउँ सहर भएर बग्ने नदीमा उद्योगबाट निस्कने रसायन मिसाइएको पानी र ढलको पानी पिउनाले सुगा मैना मर्ने तथा यहाँबाट पलायन भएको उहाँले जानकारी दिनुभयो ।