• १३ साउन २०८१, आइतबार

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला सम्मानित

blog

काठमाडौँ, माघ २० गते । परशुराम-शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।

हजारौँ सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनः जीवन दिन पुर्याएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम-शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको छ । साहित्यकार प्रा.डा.रामप्रसाद दाहाल, प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र उपप्राध्यापक केशवप्रसाद दाहालद्वारा आफ्ना माता-पिता शकुन्तला दाहाल र परशुराम उपाध्यायको स्मृतिमा वि.सं.२०६८ मा उक्त प्रतिष्ठान स्थापना गर्नुभएको थियो ।

प्रतिष्ठानले समाजका विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष विशिष्ट सम्मान प्रदान गर्दै आएको छ । प्रतिष्ठानले पछि परेका वर्ग, क्षेत्र र समुदायलाई अघि बढ्न छात्रवृत्तिका माध्यमबाट उत्पे्ररणा र हौसल्ला प्रदान गर्दै आएको छ । सो अवसरमा प्रतिभा प्रोत्साहन मोर्डन कन्या कलेजकी छात्रा सरस्वती परियार र श्लेषा दर्नाललाई प्रदान गर्यो । सो अवसरमा सभामुख घिमिरेले मुटुको उपचारका क्षेत्रमा क्रियाशील रही उदाहरण प्रस्तुत गर्ने डा.कोइरालाको जहाँ इच्छा त्यहाँ उपायको प्रतीकका रुपमा रहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठान पनि संस्कारद्वारा समाजमा समृद्धि ल्याउन सकिन्छ भन्ने अभियानमा जुटेको छ । डा.कोइरालाले पनि इच्छालाई प्रयत्नमा बदलेर परिणाम दिइरहनुभएको छ ।”

मानिसले मृत्युलाई असल कामबौ जित्न सक्ने भन्दै सभामुख घिमिरेले झापामा बच्चाहरुको मुटुको उपचारका लागि डा.कोइरालाकै निष्ठा, योगदान, सक्रियता र अग्रसरतामा ठूलो योजना अघि बढिरहेकाले त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । सुशासनका माध्यमबाट मात्रै राष्ट्र र समाजलाई अघि बढाउन सकिने र त्यसका लागि आफूलाई लागेका र देखेका विषय स्पष्टसँग राख्दै कमी-कमजोरी हटाउन दिशानिर्देश गर्ने प्रतिष्ठानका अध्यक्ष दाहालको व्यवहार, शैली र अभिव्यक्ति प्रशंसायोग्य रहेको बताउनुभयो ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय मुद्दामा दलभन्दा माथि उठेर देशलाई समृद्धि तुल्याउने अभियानमा सहभागी हुन सबै तह र तप्कालाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “परशुराम-शकुन्तला दाहाल परिवार संस्कार, संस्कृति, सद्भाव र विचारका माध्यमद्वारा मुलुकमा समृद्धि र सुगन्ध छर्न सफल हुनुभएको छ ।” सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मानिसको जीवनदान भगवान्ले मात्रै दिन सक्छन् भन्ने मान्यता रहेको नेपाली समाजमा डा.कोइरालाले भगवान्कै स्वरुपमा कार्यजिम्मेवारी गरिरहनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिवर्तित समाजमा समाजिक मूल्य, मान्यतामा विखण्डित देखिएको छ । परिवार टुटेको छ । वृद्ध बाबाआमालाई छाडेर सन्तान टाढा रहनुपरेको छ । सामाजिक दायित्व कमजोर भएको छ । यो बेला समाजलाई जोड्ने नयाँ सूत्र आवश्यक छ ।” सम्मानित व्यक्तित्व डा.कोइरालाले राज्यले सुम्पिएको कार्यजिम्मेवारीभित्र रही मुटुरोगका क्षेत्रमा कर्तव्य पूरा गर्ने कोसिस गरेकाले त्यसलाई अस्वाभाविक कामका रुपमा नबुझिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा असल काम गर्नेको सङ्ख्यामा कमी आएको छ, राम्रो काम गर्नेलाई उत्साहित र प्रोत्साहित गर्न जरुरी छ । समाजमा अध्यक्ष दाहालजस्तो इमान्दार, प्रभावशाली र बेजोड प्रस्तुति भएका व्यक्तित्व पाउन कठिन छ ।”

उद्योगी डा.उपेन्द्र महतोले सम्मानित व्यक्तित्व डा.कोइराला आफ्नो क्षेत्रका मेहनती, इमान्दार र सक्षम चिकित्सक भएको बताउँदै आर्थिक अवस्था कमजोर भए पनि नेपाली संस्कार र संस्कृति विश्वमै अद्वितीय रहेको विचार प्रकट गर्नुभयो । प्रतिष्ठानका संरक्षक प्रा.डा.दाहालले असल बाटोमा हिँड्न प्रेरित गर्ने पिता र माताले सिरहाको बन्दीपुर क्षेत्रमा पाटी, पौवा, मन्दिर, पोखरी र चौतारोलगायतका सामाजिक कार्यमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । उहाँले नेपाली समाजमा परम्परादेखि स्थापित संस्कार, संस्कृति र परम्पराको जगेर्ना गर्ने प्रेरित गर्ने हिसाबले प्रतिष्ठान स्थापना गरेको बताउनुभयो । रासस