• २३ वैशाख २०८१, आइतबार

पर्यटक तान्दै चित्रकला

blog

खोटाङ ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलले भरिपूर्ण जिल्ला हो । विगतमा पनि फाट्टफुट्ट पर्यटक जिल्ला नआएका हैनन् तर जति आउनुपर्ने थियो, त्यति पर्यटक जिल्ला आएका छैनन् । जस कारण जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई देश–विदेशमा चिनाउन ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ आयोजना गरियो । 

नेपालसहित १४ देशका ३७ जना ख्यातिप्राप्त चित्रकार खोटाङ आउनुभयो र जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई क्यानभासमा उतार्नु भयो । अस्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लाट्भिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका गरी १७ जना अन्य देशबाट र नेपालका २० जना चित्रकार कार्यक्रममा सहभागी हुनुभएको थियो । 

असोज १७ गतेबाट सुरु भएको कार्यक्रम २१ गते समापन गरियो । चित्रकारहरू पाँच दिनसम्म जिल्लाका विभिन्न ठाउँमा पुगेर क्यानभासमा उतारेको चित्र अन्तिम दिन प्रदर्शन गरियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको यस कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका पर्यटकीय क्षेत्रलाई क्यानभासमा उतार्ने काम भयो । दिक्तेलस्थित मझुवागढी, किरातचोक, भवनगैरा, हाटडाँडा, शङ्खधर साख्वाचोक, शुभम् फाउन्डेसन, जालपा र खानीडाँडासम्म पुगेर फरक फरक दृश्यका चित्रकारले लाइभ चित्र कोरेका छन् । कतिपय चित्रकारले अगाडि देखिएका चित्रसमेत लाइभ क्यानभासमा उतारेर दर्शकलाई देखाउनुभएको थियो । 

जिल्लामा थुप्रै पर्यटकीय स्थल छन् । मझुवागढी (कालिका भगवती), रूपाकोट, त्रिधार्मिक स्थल हलेसी, बराहपोखरी यी जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य स्थल हुन् । थप व्यवस्थित बनाएर पर्यटकीय गन्तव्य बनाउन सकिने अन्य थुप्रै ठाउँ छन् । जुन पर्यटकीय स्थलको प्रचारप्रसार गर्न चित्रकला कार्यशाला कार्यक्रमले धेरै सहयोग गरेको छ । ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेको चित्रहरूले विश्वका पर्यटकलाई लोभ्याएर जिल्ला तान्ने विश्वास गरिएको छ । 

पुनः चित्रकला प्रदर्शनी 

विगत जस्तै धनु आर्ट स्टुडियोको सहयोगमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकै आयोजनामा यही फागुन ५ देखि १७ गतेसम्म काठमाडौँ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा पुनः अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी पनि हुँदै छ । जसमा करिब ४२ देशका वरिष्ठ चित्रकारले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई क्यानभासमा उतार्नुहुन्छ । जसले खोटाङलाई पर्यटकीय गन्तव्य बनाउन थप मद्दत गर्ने छ ।

उद्देश्य

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारलाई झिकाउनुको मुख्य उद्देश्य कला संस्कृति र सुन्दर प्रकृतिलाई क्यानभासमा उतारेर अन्तर्राष्ट्रियकरण गरी नगर विकासका लागि पर्यटक भित्र्याउनु हो । साथै चित्रकलाप्रति रुचि भएका विद्यार्थीलाई सिधा संवाद र भेटघाट गराएर मनोबल उच्च बनाउनु मुख्य उद्देश्य थियो । खोल्साखाल्सी, भिरपाखालाई क्यानभासमा उतारेर पुस्तौँ पुस्ता पछाडिसमेत चित्रकारले उतारेको चित्रलाई इतिहासका रूपमा संरक्षित गर्न सक्छौँ भन्ने पनि उद्देश्य हो । भूगोल र अवस्थालाई चित्रकारले आफ्नै आँखाले प्रत्यक्ष नियाल्नुभएको छ । स्थानीय दाजुभाइ दिदीबहिनीले उहाँहरूसँग भेट्ने अवसर पाउनुभयो । झट्ट हेर्दा अहिले यो कार्यक्रमको उपलब्धि नदेखिएला तर दीर्घकालीन रूपमा यसको ठुलो महìव रहने छ । 

यसरी आए वरिष्ठ चित्रकार 

केही समयअघि जब म जापानको भ्रमणमा गएँ । सोही समयदेखि यसको सूत्रधार तयार भयो । सबैभन्दा ठुलो भूमिका र सहयोग वरिष्ठ मूर्तिकार तथा चित्रकार प्राज्ञ धनबहादुर याक्खाको छ । हुन त म यस विधाको सामान्य विद्यार्थी भएका कारण चित्रकलाको विकासका लागि म सदैव प्रयत्नशील छु । म नगर प्रमुखमा निर्वाचित भएसँगै धनुजी र मैले लामो छलफल गरेर यो कार्यक्रम तय गरेका हौँ । उहाँले धेरै ठुलो मेहनत गर्नुभएको छ । उहाँ यो क्षेत्रको व्यक्ति भएपछि हामीलाई खासै समस्या नै भएन । कार्यक्रम गर्ने भनेर लामो छलफलपश्चात् तयार भयो । त्यसपछि नेपाल र विदेशका वरिष्ठ चित्रकारहरू खोटाङसम्म ल्याउन उहाँको महìवपूर्ण सहयोग छ । 

महत्वपूर्ण विकास

हामीले डोजर चलाएर भिरपाखा भत्काउनुलाई मात्र विकास भनेका छौँ । भौतिक पूर्वाधारको विकासबाट नै समाज विकासलाई कायापलट गर्न सकिन्छ भन्ने मैले पनि बुझेको छु । र, हामी यस काममा पनि निरन्तर लागिरहेका छौँ तर विकास भनेको त्यो मात्रै हैन भन्ने मेरो ठम्याइ छ । कला साहित्य, सङ्गीत र खेलकुदको विकास गरेर मात्रै सर्वाङ्गीण विकास हुन सक्छ । त्यसैले सबै क्षेत्रको विकास गर्नलाई हामीले कार्ययोजना बनाएका छौँ । त्यही भएर भौतिक पूर्वाधार निर्माण सँगसँगै हामी प्रयत्नशील छौँ ।  यस कार्यक्रमबाट नागरिकलाई मात्र हैन, नेपाल देशलाई नै फाइदा भयो भन्ने मेरो बुझाइ छ । पर्यटक प्रवर्धन गर्दै देश विकास गर्न पर्यटन मन्त्रालय र पर्यटन बोर्डले गर्नुपर्ने काम हामीले गरेका छौँ । कतैबाट एक रुपियाँ लिएका छैनौँ । हाम्रो यो कार्यक्रम अहिले तत्काल फाइदा नदेखिए पनि दीर्घकालीन ढङ्गबाट पर्यटक भित्रिने छन्, हाम्रो कला संस्कृति अन्तर्राष्ट्रियकरण हुने छ र चित्रकलाप्रति समर्पित विद्यार्थीले अझ निखरता पाउने छन् । 

इतिहासको संरक्षण

यो कार्यक्रमले इतिहास संरक्षण गर्न झन् मद्दत पुगेको छ । अब दिक्तेलमा एउटा सङ्ग्रहालय निर्माण गर्ने योजनामा छौँ । त्यहाँ हाम्रो इतिहास रहने छ । यस कार्यक्रममा वरिष्ठ चित्रकारले क्यानभासमा उतार्नुभएको चित्रलाई संरक्षण गरेर राख्ने छौँ । यो खोटाङका लागि ठुलो सम्पत्ति हुने छ । 

हामी अर्थात् नगरपालिका व्यापारिक संस्था होइन, हामी चित्रहरू बेच्दैनौँ, संरक्षण गरेर राख्छौँ । अब हामीले दिक्तेलमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन चाहन्छौँ । हाम्रो नगरको सान र पहिचान अन्तर्राष्ट्रियकरण गर्दै स्थापित हुने छ । 

सानो लगानी, ठुलो आम्दानी 

अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम हेर्दा ठुलो खर्च भएको देखिएको तर यसमा सानो लगानी भएको छ भने आम्दानी धेरै भएको छ । पहिलो चरणको यस कार्यक्रमका लागि जम्मा १८ लाख रुपियाँ बजेट विनियोजन गरेका थियौँ । १४ देशका चित्रकार नेपाल विमानस्थलमा आएदेखि नफर्किन्जेलसम्म खाने, बस्ने र यातायातको व्यवस्था नगरपालिकाको तर्फबाट गरिएको थियो । विदेशी चित्रकारलाई दुई सय डलर र स्वदेशी चित्रकारलाई सय डलर बराबर सम्मानस्वरूप व्यवस्था गरिएको थियो । 

खाना, खाजा र बस्न शुभम् फाउन्डेसनबाट सहयोग भयो । यसरी समग्रमा झट्ट हेर्दा सुन्दा करोडौँ बजेट लाग्ने यो कार्यक्रम हो तर नगरपालिकाले १८ लाख रुपियाँ मात्र विनियोजन गरेको थियो । यसमा धनु आर्ट स्टुडियोले समेत लगानी गरेर यो कार्यक्रम सम्पन्न भएको छ । करोडौँ रुपियाँ पर्ने क्यानभासमा उतारेका चित्र हामीले पाएका छौँ । यो हाम्रो ठुलो सम्पत्ति हो, यो हाम्रो ठुलो आम्दानी हो । 

Author

तीर्थराज भट्टराई