• ११ मंसिर २०८१, मङ्गलबार

नचाइयो बाह्रवर्षे पचली भैरव नाच

blog

काठमाडौँ, माघ २० गते ।  हरेक १२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच मरु टोलमा नचाइएको छ । सामान्य बोलीमा पचली भैरवको १२ वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने श्रीपचली भैरवको खड्ग सिद्धी नाच हो भने यसलाई नेपाल भाषामा गथु प्याखँ भनिन्छ । दुई दिनसम्म नचाइने सो नाचमा गणेश, वाराही, इन्द्रायणी, ब्रह्मायणी, नारायण, भैरव, सिँगिणी, व्याधिणी, श्वेत भैरवसहित १३ देवगण संलग्न नाच परम्परागत बाजाका तालमा नाचिन्छ । सुरुमा गुरु बाजालाई ढोग गरेपछि फरक पोसाक र मुकुन्डोमा सजिएका देवगणले क्रमशः नाच प्रस्तुत गरिन्छ । 

सो नाचका मूल नाइके सुरेश मालाकारले तत्कालीन समयमा राजा र देवताबिच खड्ग साटासाटका रूपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने जानकारी दिनुभयो । उहाँका अनुसार तान्त्रिक हिसाबमा गुरुले बाजा बजाउँछन् त्यही अनुसार देवगण नाच्ने विश्वास राखिन्छ ।

यो नाच हरेक वर्ष बडादसैँको टीकाको दिन टेकुस्थित पचली भैरव मन्दिरबाट सुरु भई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा देखाउने चलन छ । देवगणको नाच सकिएपछि दर्शकले दक्षिणा दिने चलन छ । धार्मिक रूपमा समेत महत्वपूर्ण मानिएको यो नाच हेर्नाले सुख र शान्ति पाउने जनविश्वास रहिआएको सांस्कृतिक अभियन्ता राजन महर्जनले बताउनुभयो ।  उहाँले पचली आजु (भैरव) लाई राष्ट्रको रक्षा र शक्तिको स्रोतका रूपमा सरकारीस्तरबाटै पूजा गरिने जानकारी दिँदै तत्कालीन राजाले शक्ति सञ्चितिका लागि हरेक १२ वर्षमा पचली भैरवसँग खड्ग सिद्धि (खड्ग साट्ने) गर्ने जानकारी दिनुभयो । 

पचली आजुको संरक्षण गर्न, जात्रा मनाउन १२ जना गुठियार हरेक वर्ष पालैपालो पुजारी बस्दै आइरहेका छन् । पहिला गुठियार, थकु जुजु र जात्रासँग सम्बन्धित चित्रकार, गथुहरूले मात्र सञ्चालन गर्दै आइरहेको जात्रा व्यवस्थापन गर्न केही वर्षअगाडिदेखि स्थानीयस्तरमा पचलीजात्रा व्यवस्थापन समिति बनाई जात्रा व्यवस्थापन गर्दै आइरहेको छ । नाचको मूल नाइके मालाकारले राज्यस्तरबाटै सम्मानित पचली भैरवको जात्राबारे प्रचारप्रसार नभएकाले स्थानीयस्तरमा मात्रै सीमित भइरहेको बताउनुहुन्छ । 

उहाँले पचली भैरवको जात्रा नेपालकै मौलिक जात्रा भएकाले यो जात्राले विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने जानकारी दिनुभयो । यो नाच समापन भएपछि नाचका पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाइने मालाकारले जानकारी दिनुभयो ।