• २० वैशाख २०८१, बिहिबार

नौ करोड लगानीमा छत्रकोट गाउँपालिकाकाे भवन बन्ने

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ १९ गते । गुल्मीको छत्रकोट गाउँपालिकाले नयाँ अत्याधुनिक प्रशासकीय भवन बनाउने भएको छ । यस गाउँपालिकाको वडा नम्बर–३, भेँडुवामा अत्याधुनिक प्रशासकीय भवन निर्माण हुन लागेको हो । 

जग्गा प्राप्तिको कठिन प्रक्रिया पूरा गरी सामुदायिक बनको जग्गामा यस गाउँपालिकाले अत्याधुनिक प्रशासकीय भवन निर्माण गर्न लागेको हो । एक औपचारिक कार्यक्रमको आयोजना गरी त्यस गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले सो भवनको शिलान्यास गनुभयो । 

त्यस अवसरमा उहाँले लामो समयको मेहनतपछि छत्रकोट गाउँपालिकाको अत्याधुनिक प्रशासकीय भवन बनाउन लागेको बताउनुभयो । जग्गा प्राप्तिसँगै हालको चरणसम्म पुग्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । कामको जिम्मा पाएको निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गर्नुहुँदै अध्यक्ष पाण्डेयले गुणस्तरमा आफूले कुनै पनि सम्झौता नगर्ने बताउनुभयो ।

नौ करोड ११ लाख दुई हजार ९७९ रुपियाँ ७६ पैसा लागतमा २०८२ मङ्सिर ८ गतेभित्र सम्पन्न गर्ने गरी जिम्मा अम्बे मा बलदेव जेभीले निर्माण गर्ने सम्झौता भएको छ । भवन आवासबाहेक प्रशासनिक कामका लागि ३२ कोठा, बैठक कक्ष, सङ्ग्रहालयसहित ४ तलाको बन्नेछ । भवनमा अशक्त र वृद्ध वृद्धालाई सजिलो होस् भनेर लिफ्टको पनि व्यवस्था गरिएकाे गाउँपालिकाले जनाएको छ ।