• ६ माघ २०८१, आइतबार

साहित्य–कला तथा अन्तर्राष्ट्रिय महोत्सव सुरु

‘मैथली भाषाको विकासमा राज्यको लगानी आवश्यक छ’

blog

साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । तस्विर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, माघ १८ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मैथली भाषाको विकासमा राज्यको लगानी  आवश्यक रहेको बताउनुभएको छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा सोमबारदेखि सुरु भएको साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले मैथली भाषा, साहित्य र सँस्कृतिको अस्तित्व बेलावखतमा संकटमा पर्नेगरेको भन्दै अरु भाषाको सम्मान गरी आफनो भाषाको अस्तित्व जोगाउन आवश्यक भएको बताउनुभयो । नेपालमा १३६ जातजातीको छुट्टै पहिचान भएको भन्दै सबैले आफनो पहिचानलाई कायम राख्नुपर्ने बताउनुभयो । 

जनकपुरधाम ऐतिहासिक र धार्मिक ठाउँ भएको भन्दै जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी हिन्दुहरुको आकर्षणको केन्द्र बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले आफु नेतृत्वको सरकारले विगतमा मैथली भाषाको संरक्षण सम्बद्र्धनका लागि हरेक प्रकारको सहयोग गरेको उल्लेख गर्दै आउने दिनमा पनि राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राचीन समयमा पनि विदेह गणराज्यमा राजा जनकले हलो जोतेर श्रमको सम्मान गरिनुको साथै राज्य सञ्चालनका लागि मितव्ययिता अपनाएको विषय अहिले राज्य सञ्चालन गर्न पाठ भएको बताउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सबै भाषाको विकासको जिम्मा राज्यले लिनुपर्ने भन्दै भाषाको विकासमा अझै पनि नेपालमा उपेक्षा र विभेद कायम रहेको बताउनुभयो । 

उहाँले नेपालमा सबैभन्दा बढी बोलिने दोस्रो भाषा मैथिली रहेको चर्चा गर्दै मैथिली भाषाको विकासका लागि तीनै तहका सरकार गम्भीर हुनु पर्नेमा जोड दिनुभयो । उहाँले धेरै त्याग र बलिदानीबाट आएको संविधानमा नै भाषाको विकासका सन्दर्भमा भेदभाव रहेको भन्दै संविधानको संशोधन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालवावु राउतले आफनो नेतृत्वको सरकारले विगतमा विभिन्न भाषाको विकासका लागि मधेश प्रज्ञा प्रतिष्ठाननै सञ्चालन गरेको र मैथली भाषाको विकासका लागि पटक–पटक आर्थिक सहयोग गरेको बताउनुभयो । 


कार्यक्रममा बोल्ने अधिकांश बक्ताले महोत्सवको सफलताको कामना गर्दै मैथली भाषा, साहित्य, कला सँस्कृतिको संरक्षणका लागि जोड दिनुभयो । मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेकपा (एमाले) का सचिव एवम मधेश इन्चार्ज योगेश भट्टराई, नेकपा (माओवादी केन्द्र) का नेतृ एवम मधेश सरकारका सँस्कृतिमन्त्री सुनिता यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृ सोविता गौतम, नेकपा एसका रामचन्द्र झा, बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलसहित नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

पाँच दिनसम्म चल्ने सो महोत्सवमा राजनीति, भाषा साहित्य, कला सँस्कृतिको विभिन्न पक्षमा ग्रहण विचार विमर्श हुने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा कोषले आज विहान जनकपुरधाम नगर क्षेत्रमा मिथिलाको विभिन्न पक्षलाई समेटेर  झाँकी प्रदर्शन गरेको छ ।