• १९ असार २०८१, बुधबार

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ १८ गते । झापाको दमकमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राईले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलामको माङसेबुङका स्थायी बासिन्दा उनीहरू दमक वडा ७ श्रीपाली टोलमा रहेको काजीमान श्रेष्ठको घरमा भाडामा बस्दैआएका थिए । स्थानीयका अनुसार बुधबार बेलुका छिमेकीको घरमा जन्मदिनको भोज खाएर दुवै जना अबेर कोठा आएपछि दुईबिच झगडा भएको थियो । 

मृतकको अनुहार र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । दुवै जनाले मदिरा सेवन गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । स्थानीयले बिहान प्रहरीलाई खबर गरेपछि श्रीमान् राईलाई पक्राउ गरेर घटनाको विषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । श्रीमान् र श्रीमती दुई जनामात्र कोठामा बस्दैआएका थिए ।