• १५ जेठ २०८१, मङ्गलबार

गोबरसँगै खेल्ने कृषक भन्नुहुन्छ, ‘वर्षमा एक करोडको दुध बेच्छु’

blog

दुध दुहुँदै कृषक कृष्णप्रसाद पौडेल । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

बागलुङ, माघ १८ गते । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई बागलुङका कृष्णप्रसाद पौडेलले गलत साबित गर्नुभएको छ । पौडेल व्यावसायिक पशुपालनबाट वार्षिक  एक करोड रुपियाँभन्दा बढीको दुध बिक्री गर्नुहुन्छ ।

बागलुङ नगरपालिका–४ ओडारचौरका ६० वर्षीय पौडेलले मेहनत गरी स्वदेशमै पनि मनग्य पैसा कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । २० वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आउनुभएका पौडेलको फर्ममा यतिखेर गाई–भैँसी गरी ६५ वटा पशुचौपाया छन् । 

फर्ममा यतिखेर ४० वटा दुहुँना गाई–भैँसीहरूबाट दैनिक दुईसय ८० देखि ३०० लिटरसम्म दुध उत्पादन हुन्छ । उन्नत जातका मुर्रा भैँसी, जर्सी र होलस्टेन गाई पौडेलले पाल्नुभएको छ । 

फर्ममा यतिखेर ४० वटा दुहुना गाई–भैँसीहरुबाट दैनिक दुईसय ८० देखि ३०० लिटरसम्म दुध उत्पादन हुन्छ ।

थोरै रकमबाट थालेको पशुपालनमा अहिले करिब दुई करोड रुपियाँभन्दा बढी लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । पाँच रोपनी जमिन भाडामा लिएर पौडेलले श्रीकृष्ण गाई भैँसी फर्म उद्योग सञ्चालन गर्नुभएको छ । घाँसका लागि खेत, पाखो र बारी गरी करिब दुईसय रोपनी जग्गा वार्षिक रूपमा चार लाख रुपियाँ भाडा भुक्तानी गर्नेगरी लिनुभएको उहाँले बताउनुभयो ।

गाई–भैँसीलाई आवश्यक पर्ने घाँस उक्त जमिनमा लगाउनुभएको छ । फर्ममा ६ जनालाई रोजगारी दिनुभएको छ । दुध बिक्री गर्न बागलुङ बजारमा उहाँको आफ्नै दुध डेरी पसल छ । पसलबाट प्रतिलिटर एकसय २० देखि एकसय ४० रुपियाँसम्म दुध बिक्री पौडेलले बताउनुभयो । 

उहाँले दुध उपभोक्ताको घर–घरसम्म पनि पुर्‍याउँदै आउनुभएको छ । ६० वर्षको उमेर भए पनि पौडेलको जोसजाँगर युवाजस्तै छ । कामदारसँगै दैनिक रूपमा गाई भैँसीको स्याहारसुसार, दानापानी गोबर फाल्ने काम गर्नुहुन्छ । 

रोजगारीका लागि २० वर्ष भारतको मुम्बईमा बिताउनुभएका पौडेलले २०६१ सालमा स्वदेश फर्केर बजारमा व्यावसायिक पशुपालन गर्न थाल्नुभएको हो । पर्वतको जलजला गाउँपालिका–५ अन्नेचौर निवासी पौडेलको पशुपालन फर्म साबिक धौलागिरिको पहिलो फर्मको रूपमा चिनिन्छ ।  

रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा घुमफिरका क्रममा ठुला पशुपालन फर्मको अवलोकन गरेको र राम्रो आम्दानी समेत हुने जानकारी पाएपछि स्वदेश फर्किएर पशुपालन गर्न थालेको उहाँले बताउनुभयो । ‘मैले भारतमा रोजगारी गर्दा  पशुपालन फर्महरू देखे अनि यहाँ बसेर हुँदैन, नेपाल फर्किएर पशुपालन गर्दछु भनेर फर्किएँ’ उहाँले भन्नुभयो ।  

म भारतमै बसेर नोकरी गरेको भए आज मेरा छोराछोरीले राम्रोसँग पढ्ने अवसर पाउने थिएनन् ।

पशुपालन व्यवसायबाट कमाएको पैसाले पाँच छोराछोरीलाई राम्रोसँग शिक्षादीक्षा दिएको छु, उहाँले भन्नुभयो, ‘‘म भारतमै बसेर नोकरी गरेको भए आज मेरा छोराछोरीले राम्रोसँग पढ्ने अवसर पाउने थिएनन् । राम्रो विषय पढ्न पैसाको कमी हुनेथियो ।” 

दुध बिक्री गरेर कमाएको पैसाले अहिले एउटा छोरा चार्टर एकाउन्टेन बनाएको उहाँले बताउनुभयो । “एउटा छोरी सिभिल इन्जिनियर, अर्को छोरीलाई नर्स पढाएँ, अहिले सबै छोराछोरीले राम्रो जागिर खाने भएका छन्” उहाँले भन्नुभयो । 

लैनोमा गाईले एक पटकमा १० देखि १२ लिटर र भैँसीले ६ देखि ७ लिटरसम्म दुध दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो फर्मबाट अहिले दैनिक रूपमा दुईसय ८० देखि तीनसय लिटरसम्म दुध उत्पादन हुन्छ । दैनिक रूपमा करिब ३० हजार रुपियाँभन्दा बढीको दुध बिक्री हुन्छ ।” 

फर्मबाट  मासिक रूपमा दशदेखि १२ लाख रुपियाँको दुध बिक्री हुनेगरेको उहाँले जानकारी दिनुभयो । दानापानी र कामदार खर्च गरेर ६ लाख रुपियाँ खर्च हुनेगरेको उहाँको भनाइ छ ।  

“विदेशमा गर्ने परिश्रम आफ्नै गाउँघरमा गर्नसके सफलता प्राप्त गर्न सकिन्छ” उहाँले भन्नुभयो, “मैले बिहानदेखि साँझसम्म फर्ममा काम गर्दछु । अहिले ६० वर्षको भए युवाजस्तो जोसजाँगर अझै ममा छ । यो कठिनाइको पेसा हो । यो पेसामा धेरै सङ्घर्ष छ । कतै नडगमगाई काम गर्नुपर्छ । काम सिकेर, म गर्नु सक्छु भन्ने आँट र साहस गरेर यो पेसा गरेमा सफलता मिल्छ  ।’’

काम सिकेर, म गर्नु सक्छु भन्ने आँट र साहस गरेर यो पेसा गरेमा सफलता मिल्छ  ।

‘‘फर्ममा काम गर्ने कामदार पनि राखेको छु । तर म आफै पनि बिहानैबाट गोबरसँग खेल्छु, भैँसीको स्याहारसुसार, दुहुने र आहारा तयार गर्ने काम गर्नुपर्छ” उहाँले थप्नुभयो, “मोटरसाइकलमा दूधको क्यान झुन्ड्याएर बजारसम्म लग्ने काम गर्छु, निरन्तर २० वर्षदेखि यही पेसामा छु । आत्मसन्तुष्टि मिलेको छ ।”

गाई भैँसी पालेर राम्रो आम्दानी लिने पौडेल यस क्षेत्रको नमुना किसान हुनुहुन्छ । पौडेलको सिको गरेर अरूले पनि पशुपालन व्यवसाय थालेका छन् । सरकारीस्तरबाट किसानलाई हौसला दिनेखालका कार्यक्रम ल्याउन उहाँले सुझाव दिनुभयो ।