• १२ कात्तिक २०८१, सोमबार

बागलुङदेखि जलजला जोड्ने झोलुङ्गे पुल निर्माण

blog

कालीगण्डकी नदीमाथि निर्माणाधिन बागलुङ-जलजला जोड्ने झोलुङ्गे पुल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

बागलुङ, माघ १८ गते । बागलुङ बजारदेखि पर्वतको जलजला गाउँपालिका जोड्न काली गण्डकी नदीमाथि निर्माणाधीन पाँच सय २४ मिटर लामो झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको छ । बागलुङ नगरपालिका-४ उपल्लाचौरको गौरीधामबाट जलजला गाउँपालिका-८ ओडारे जोड्ने उक्त पुल डेढवर्ष अघि निर्माण थालिएको थियो । पुल निर्माणको करिब ९५ प्रतिशत भौतिक प्रगति भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले जनाएको छ । 

दुई वर्ष भित्रमा योजना सम्पन्न गर्न २०७९ असार २१ गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीबिच भ्याट बाहेक ८ करोड २३ लाख ४१ हजार चारसय ११ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता मितिभन्दा चार महिना अगावै पुल निर्माण सम्पन्न हुन लागेको हो । अबको तीन हप्ताभित्र पुलबाट वारपार गर्ने व्यवस्था मिलाउन यतिखेर निर्माणको बाँकी कामलाई तीव्रता दिइएको छ । 

पुल निर्माण अन्तिमचरण पुगेको छ निर्माण कम्पनीका मुख्य प्रतिनिधि वसन्त घर्तीमगरले भन्नुभयो, "पुलको करिब सबै संरचना निर्माण भइसकेका छन् । चार वटा हावा लठ्ठा तान्नुपर्नेमा एउटा तानिसकेका छौँ । हावा लठ्ठा तानिसकेपछि पुलको दुवैतर्फ झाली लगाउन थाल्छौँ । अबको तीन हप्ताभित्रमा वारपार गर्न मिल्ने गरी पुलको सम्पूर्ण काम सक्ने गरी तीव्र गतिमा काम गरेका छौँ ।" उक्त पुल एकल स्पानको सस्पेन्सन बृजमध्ये विश्वकै दोस्रो लामो झोलुङ्गे पुल भएको दाबी गरिएको छ । 

पुल निर्माण सम्पन्न भएपछि जलजला ८ नाग्लीबाङका स्थानीयहरू घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यताको अन्त्य हुने बागलुङ नगरपालिका ४ का वडाध्यक्ष कुमार विक्रम क्षेत्रले बताउनुभयो । जलजलाका नागरिकहरू व्यापारिक कामका लागि बागलुङ आउन निकै सहज हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "नाग्लीबाङवासी डेढ घण्टा हिँडेर बागलुङ बजार आउनुपर्दथ्यो । पुल बनेपछि १५ मिनेटमा बजार आउन सकिन्छ । पुलले दुवैतर्फका सर्वसाधरणहरुलाई आवतजावतमा निकै सहज बनाउँछ । बागलुङ र पर्वतको पर्यटन क्षेत्रको समेत विकास हुनेछ ।"

लामो र अग्लो पुल भएकाले आन्तरिक पर्यटकलाई पनि यसले आकर्षित गर्ने उहाँले बताउनुभयो । लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा यसअघि बागलुङ नगरपालिका १ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका १ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल तीनवर्ष अघि निर्माण सम्पन्न भइसेको छ ।