अमृतप्रसाद पौडेल
म्याग्दी, माघ १८ गते । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा निर्माण गरेको कोल्ड स्टोर (शीत भण्डार) को परीक्षण सफल भएको छ । सुन्तलाको पकेट क्षेत्र बेनी नगरपालिका–४ बास्कुना, वडा नम्बर ३ को मरेक तथा राखूँ क्षेत्रबाट ल्याएर कोल्डस्टोरमा राखिएको सुन्तलामा कुनै पनि परिवर्तन आएको छैन ।
बेनी नगरपालिका तथा जिल्लाको सुन्तला उत्पादन हुने पकेट क्षेत्रका कृषकले सिजनमा सुन्तला टिपेर सस्तोमा बेच्नुभन्दा कोल्डस्टोरमा राखेर बेमौसमा महँगो मूल्यमा बिक्री गर्न सहज होस भनेर निर्माण गरिएको कोल्डस्टोरमा अहिले परीक्षणका लागि राखिएको सुन्तलामा कुनै समस्या नदेखिएको बेनी नगरपालिका–४ का वडा अध्यक्ष भगवान् खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कोल्डस्टोर बनेपछि कृषकहरू खुसी भएका छन् र यस वर्ष परीक्षणको रूपमा राखिएकोमा हाल सम्मको अवस्था हेर्दा सफल भएको मान्न सकिन्छ ।’
बेनी नगरपालिकाले सुन्तला कोल्डस्टोरमा राख्नका लागि चार सय खाली क्रेट समेत उपलब्ध गराएको भएपनि कृषकहरूले पहिलो पटक सुन्तला बिग्रिनसक्छ कि भनेर धेरै मात्रामा ल्याएको भएपनि हाल सम्मको अवस्था हेर्दा पूर्ण सफल मान्न सक्ने अवस्था देखिएको छ ।
बेनी नगरपालिकाले कोल्डस्टोर निर्माणका लागि एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ रुपियाँ लागत अनुमान गरेकोमा राजेशबाबु निर्माण सेवा जाजरकोटले एक करोड ५१ लाख २० हजार सात सय ३८ रुपियाँमा निर्माण सम्पन्न गरेको थियो ।
यस वर्ष बेनी नगरपालिकाको–३ को भकिम्लिको राखूँ क्षेत्रबाट एक करोड १० लाख मरेकबाट ७० लाख र वडा नं ४ को बास्कुना, थामाडाँडाबाट करिब १ करोड रुपियाँ मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।
जुन समयमा पाक्ने हो त्यही समय मात्रै सुन्तलाको बिक्री गर्नुपर्ने बाध्यतामा रहेका कृषकहरूले कोल्डस्टोर बनेपछि त्यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गर्ने गरी भण्डारणमा सहज भएको बेनी नगरपालिका–४ का वडा सदस्य तथा बास्कुनाका सुन्तलाका अगुवा कृषक कृषक केन खत्रीले बताउनुभयो ।
यस वर्ष गएको पुस ६ गते कोल्डस्टोरमा ल्याएर सुन्तला राखिएकोमा हाल सम्मको अवस्था हेर्दा केही पनि समस्या नआएकोले कोल्ड स्टोरको प्रयोग सफल भएको मान्न सकिने वडा अध्यक्ष खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, अब हामीले ४२ दिनसम्म भण्डारण गरेर राख्दा पनि केही समस्या देखिएन र गुणस्तरमा पनि कमी नआएको हुँदा सुन्तलाको भण्डारण सफल भएको मान्न सकिन्छ ।
मौसमको समयमा कम मूल्य पर्ने र कोल्ड स्टोरमा राखेर बेमौसममा बिक्री गर्दा राम्रो मूल्य पाउन सक्ने भएकाले कोल्डस्टोरले कृषकका लागि राम्रो काम गर्ने अपेक्षा गरेर कृषकले सुन्तला राखेको कोल्डस्टोरका कर्मचारी प्रेमप्रसाद शर्माले बताउनुभयो । बेनी नगरपालिकाले कोल्डस्टोरलाई वर्षैभरि नै प्रयोग हुने गरी तापक्रमलाई सन्तुलित बनाई राख्ने उपकरण र संरचना जडान गरेर निर्माण गरेको र म यहीँ २४ घण्टा नै ड्युटीमा रहेको हुँदा पनि अहिले सम्म कुनै समस्या देखिएन, उहाँले थप्नुभयो ।
यस वर्षको परीक्षणको हाल सम्मको अवस्था हेर्दा सफल भएको मान्न सकिने देखिएकोले आगामी वर्ष सिजनमा व्यापारीलाई बारीबाटै उनीहरूकै मूल्यमा बिक्री गर्नु पर्ने बाध्यताबाट कृषकले मुक्ति पाउने अपेक्षा गरिएको बास्कुनाका अर्का कृषक शेरबहादुर केसीले बताउनुभयो ।