• १९ असार २०८१, बुधबार

मालढुङ्गा–बेनी सडक योजना अलपत्र पर्दा धुलोले सकस

blog

धुलाम्मे सडकमा यात्रा गर्दै गरेको मोटरसाइकल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १८ गते ।
 उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडकलाई स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजना तीन वर्षदेखि निर्माणाधीन अवस्थामा छ । गत आर्थिक वर्षको असारमा ठेक्का सम्झौताको म्याद सकिएर पुनः थपिएको छ ।

ठेकेदारले सरासर काम गरेको भए यतिखेर चिल्लो सडकमा गाडी गुडेका हुन्थे । तर सडक स्तरोन्नति योजना ठेकेदारको लापरबाही र ढिलासुस्तीको सिकार हुँदा सडकमा उडेको धुलोका कारण आसपासका बस्तीहरू धुलाम्मे भएका छन् । दैनिक सयौँको सङ्ख्यामा गुड्ने गाडीले उडाएको धुलो बस्ती सम्म नै पुगेर धुलाम्मे बनाउँछ । नदीजन्य पदार्थ बालुवा, ढुङ्गा र गिटीको अभाव देखाउँदै ठेकेदारले योजनामा काम गरेको छैन ।

सडकमा गुडेका सवारीसाधनहरूले उडाएको धुलो बस्तीमा पुग्दा सर्वसाधरणहरुको स्वास्थ्यमा असर पुगेको छ । सडक छेवैको खेतबारीमा लगाएको खेती काम नलाग्ने भएको छ । भने ठुला सवारीसाधन गुड्दा उडेको धुलोले मोटरसाइकल लगायत साना सवारीसाधनका चालकले सास्ती भोग्नुपरेको छ । ठुला सवारीसाधन गुड्दा सडक नै छोपिने गरी धुलो उड्छ । सडकमा उडेको धुलो बस्ती र खेतीयोग्य जमिनमा पुगेर प्रदूषित बनाउँछ । 


पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे सडकका कारण सर्वसाधरणहरुको यात्रा कठिन र सास्तीपूर्ण  छ । स्तरोन्नतिका लागि भत्काएको सडक समयमा निर्माण नहुँदा आसपासका बस्तीहरूले धुलोका कारण सास्ती भोग्नुपरेको पर्वतको जलजला गाउँपालिका ४ लामाखेतका जीवन मल्लले बताउनुभयो । नाग्लीबाङ, फर्से, लस्ती, मिलनचोक र लामाखेतका स्थानीयहरूले सडक निर्माण अलपत्र पर्दा धुलो र हिलोको समस्या भोग्दै आएका छन् ।

मल्लले भन्नुभयो, ‘‘सडकबाट उडेको धुलो घर र खेतीपाती सम्मनै आउँछ । धुलोका कारण सास्ती भोगेको वर्षौँ भयो । सडक स्तरोन्नतिसहित कालोपत्रे योजना अलपत्र पर्दा हामी सडक छेउछाउमा बसोबास गर्ने सर्वसाधारणहरूले निकै ठुलो सास्ती भोग्नुपरेको छ । घर र लगाएको बाली छोप्ने गरी सडकबाट उडेको धुलो आउँछ । धुलोले हाम्रो स्वास्थ्यमा पनि असर पुर्‍याउने भयो । विद्यालय जाने बालबालिकाहरूलाई पनि धुलो र हिलोले समस्या भएको छ ।’’

योजनाको अहिलेसम्म करिब ४० प्रतिशत भौतिक प्रगति भएको छ । ठेकेदारले दुई–चार जना मात्र कामदार राखेर सुस्त गतिमा काम गरेको देखिन्छ । सडक फराकिलो बनाउन भित्ता कटिङ गरेर छेउमा थुपारेको ढुङ्गा र माटोले सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको छ ।


आयोजनाका तर्फबाट पटक–पटक सडक निर्माणलाई अगाडि बढाउन ताकेता गर्दा पनि ठेकेदारले कुनै सुनुवाइ नगरेको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम सडक योजनाका इन्जिनियर अच्युत विलास पन्तले जानकारी दिनुभयो ।

निर्माण सामग्रीको अभाव देखाएर ठेकेदारले योजना अलपत्र पारेको छ उहाँले भन्नुभयो, ‘‘हालै मात्र आयोजनाले ठेकेदार सँग छलफल गरेको छ । हप्ता दश दिनभित्रमा मजदुर र उपकरण परिचालन गरेर निर्माणलाई गति दिने ठेकेदारले बताएको छ । अब एक महिना सम्म योजनाको प्रगति नदेखिए ठेक्का तोड्ने गरी छलफल भएको छ ।’’

कालगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खनन् गर्न अदालतले रोक लगाएका कारण सडक निर्माणमा प्रयोग हुने सामग्रीको अभाव पनि समस्याका रूपमा देखा परेको उहाँको भनाइ छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्ण जेभीको पेटी ठेकेदार कम्पनी ओमकारेश्वर कन्स्ट्रक्सने सडक निर्माणको जिम्मा लिएको छ । 

कालोपत्रेसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले कालोपत्रे गरिने आयोजनाले जनाएको छ ।

सडक निर्माणमा भएको ढिलासुस्ती र निर्माण सामग्रीको अभावको विषयमा दुई हप्ता अघि सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले स्थलगत रूपमा अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री ज्वालाले एक हप्ता भित्र समस्या समाधान गरेर सडक निर्माणले गति लिने स्थानीयवासीहरुलाई आश्वासन दिनुभएको थियो । तर  अझै सडक निर्माणले गति लिन सकेको छैन ।