सन्तोष सुवेदी
कास्की, माघ १८ गते । पोखराको लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराका सुदीप अर्याल, सन्दीप गिरी, सुमन शर्मा, नेत्रबहादुर प्रधान, सुशील महतो र रञ्जन पौडेललाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले बताउनुभयो ।
पोखरा ६ लेकसाइडको हल्लनचोक एरियामा पर्यकटहरुलाई दुःख दिने, बाटो छेक्ने, निजहरुको ब्याग तान्ने, होटल मिलाइदिन्छौं भनी पैसाको बार्गेनिङ गर्दै गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।