• १९ वैशाख २०८१, बुधबार

बिरामी भर्ना गर्ने आयुर्वेद पसल सिल, छानबिन गर्न समिति गठन

blog

आयुर्वेद पसल सिल गर्दै प्रशासन । तस्बिर: तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, माघ १८ गते । तम्घासमा सञ्चालित आयुर्वेद पसल सिल गरेको प्रशासनले छानबिन गर्न समिति बनाएको छ । सत्य तथ्य छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो ।

जसको सदस्यहरूमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य, रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डाक्टर सुरज पाण्डे र प्रहरी निरीक्षक सूर्यमान चौधरी सदस्य रहेको समिति गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । 

समितिले यही माघ १९ गतेसम्म सत्य तथ्य बुझेर प्रतिवेदन दिने गरी समय सीमा निर्धारण गरिएको गैरेले बताउनुभयो । प्रतिवेदन आएपछि त्यसलाई आधार मानी दोषी देखिएमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने प्रशासनले चेतावनी दिएको छ । 

जनताको स्वास्थ्य माथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यस्तो पाइएमा कडा भन्दा कडा कारबाही गर्न पछाडि  नपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

तम्घासमा रहेको सम्पन्न र सफल आयुर्वेदले क्षेत्राधिकार भन्दा बाहिर रहेर प्रयोगशाला सञ्चालन, गम्भीर प्रकृतिका बिरामी  भर्ना गरेर उपचार गर्ने लगायतका कार्य गर्दै आएपछि प्रशासनले पसल सिल गरेको थियो । उक्त आयुर्वेदले नगरपालिकाको वडा नम्बर ८ पसल र ९ मा प्रयोगशाला सञ्चालन गर्दै आएको पाइएको प्रशासनले जनाएको छ । 

उक्त पसलमा आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीले अनुगमन गर्दा क्षेत्राधिकार भन्दा बाहिर रहेर काम गरेको फेला पारेर  पटक पटक सुझाव दिँदा समेत अटेर गर्दै आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।