• २९ असोज २०८१, मङ्गलबार

गोरखापत्रकर्मी पण्डित रहनुभएन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १७ गते । गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको ४७ वर्षको उमेरमा निधन भएको छ । उहाँ लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित रहनुभएको थियो । 

उपचारको क्रममा आज बुधबार बिहान ललितपुरको मेडीसिटी अस्पतालमा उहाँको निधन भएको उहाँका दाजु श्रीकान्त पण्डितले बताउनुभयो । उपचारको क्रममा बिहान ३ बजे उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीरलाई आज बिहान  पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएकाे उहाँका दाजु पण्डितले बताउनुभयो । 

भानु नगरपालिका १२ तनहुँमा २०३३ वैशाख २८ मा जन्मनु भएका उहाँ बद्रीप्रसाद पण्डित र आमा मनोहरीदेवी पण्डितकाे कान्छो छोरा हुनुहुन्छ  उहाँका  श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । साथै उहाँका आमा,  तीन दिदी र तीन दाजु  पनि हुनुहुन्छ ।

हाल कीर्तिपुरमा बस्दै आउनुभएका पण्डित २० वर्षदेखि गोरखापत्र दैनिकमा कार्यरत रहनुभएको थियो ।उहाँ २०६० वैशाख ३१ गते काठमाडौं उपत्यका समाचारदाता पदमा करार सेवामा गोरखापत्रमा प्रवेश गर्नुभएको थियो । वि.सं. २०६५ जेठ २२ मा तह ६ को समाचारदाता पदमा स्थायी हुनुभएका पण्डित २०७५ चैत ९ बाट ८ तहको सहसम्पादक पदमा बढुवा हुनुभएको थियो । उहाँको असामयिक निधनप्रति गोरखापत्रकर्मीहरुले दुःख व्यक्त गर्नुभएको छ । 

 पशुपतिमा अन्त्येष्टि 


यसैबीच, स्वर्गीय पण्डितको पार्थिव शरीरलाई बुधबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईसहित अन्य सम्पादक तथा संस्थानका कर्मचारी आर्यघाट पुग्नु भएको थियो । 

यस्तै, संस्थानका पूर्व कार्यकारी अध्यक्ष तेजप्रकाश पण्डित, पूर्व महाप्रबन्धक सुशील कोइराला, तनहुँका राजनीतिक दलका नेता, पत्रकार, शुभेच्छुक पनि आर्यघाट पुग्नु भएको थियो । 

महासंघ स्तब्ध

यस्तै, नेपाल पत्रकार महासंघले गोरखापत्र प्रतिष्ठान शाखाका सदस्य पण्डितको असामयिक निधनको खबरले स्तब्ध र दुःखी भएको जनाएको छ । 

महासंघले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ, ‘‘पत्रकारिता र सामाजिक अध्ययनको अध्यापनमा संलग्न पण्डितको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, ऊर्जाशील र अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।’’ पण्डित शिक्षा पत्रकार समाजको महासचिव समेत हुनुहन्थ्यो ।