• १३ असोज २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : एपिएफको फाइनल पुग्ने सम्भावना कायम

blog

मुलपानी मैदानमा प्रतिस्पर्धा गर्दै एपिएफ र सुदूरपश्चिमका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ १६ गते । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फाइनल पुग्ने सम्भावना कायम राखेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हराएसँगै एपिएफको फाइनल पुग्ने गणितीय सम्भावना कायम रहेको हो । 

जितका लागि ८८ रनको लक्ष्य पाएको एपिएफले १४.१ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । एपिएफका लागि सन्दीप जोराले १८ रन बनाउनुभयो । आशिफ सेखले १५, भुवन कार्कीले १४ र प्रदीप ऐरीले १२ रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका लागि दीपक चन्दले चार तथा नरेन साउदले तीन विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १६.२ ओभरमा सबै विकेटको क्षतिमा ८७ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले ३१ रन बनाउनुभयो । खदक बोहराले २४ रन जोड्दा अन्य क्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्न  एपिएफका लागि चन्दन रामले पाँच विकेट लिनुभयो । भुवन कार्कीले तीन र कप्तान रोहित पौडेलले दुई विकेट लिनुभयो । 

जितसँगै आठ खेलबाट १० अङ्क बनाएको पाँचौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको आठ खेलबाट १२ अङ्क छ । शीर्ष स्थानमा रहेको पुलिस १४ अङ्कसहित दुई खेल अगावै फाइनलमा पुगिसकेको छ । एपिएफ फाइनल पुग्न अन्तिम खेल जित्न पर्ने र आर्मीले आफ्नो अन्तिम खेलमा हार्नुपर्ने हुन्छ । १० टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोलीबिच उपाधि भिडन्त हुनेछ ।