• ३१ वैशाख २०८२, बुधबार

अनुदान नपाउँदा किसान आन्दोलित

blog

आन्दोलनरत किसान । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, माघ १६ गते । दुग्ध उत्पादक किसानलाई सरकारले दिँदै आएको अनुदानमा कटौती गरेपछि किसान आन्दोलित बनेका छन् । दुग्ध उत्पादनमा दोहोरो अनुदान रोक्न प्रदेश सरकारले कार्यविधि बनाएर बजेटसमेत कटौती गरेपछि किसान आन्दोलनमा उत्रिएका हुन् । 

दुग्ध उत्पादक किसानलाई स्थानीय तहले नै अनुदान दिँदै आएको भएता पनि कतिपय स्थानीय तहले दुग्ध उत्पादक किसानका लागि अनुदानको व्यवस्था नगरेका कारण त्यस्ता किसानले दुवै सरकारको अनुदानबाट वञ्चित भएको भन्दै किसानले आन्दोलन गरेका हुन् । 

किसानले मंगलबार बिहान दुई घण्टा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौँडामा तालाबन्दी गरेका छन् । दुग्ध उत्पादनमा आधारित अनुदानका लागि प्रकाशित सूचना बदर, दुग्ध उत्पादक किसानलाई दिँदै आएको  अनुदान (उत्पादनका आधारमा) विगत भन्दा कम नहुनेगरी दिने व्यवस्था मिलाउन उनीहरूले माग गरेका छन् । 

दुग्ध उत्पादक किसानको भुक्तानी अविलम्ब दिने व्यवस्था मिलाउनुपर्ने, दुग्ध उत्पादनको बजारीकरणको ग्यारेन्टी र किसानको आवश्यकताको आधारमा अनुदान दिने व्यवस्था गर्न उनीहरूले प्रदेश सरकारसँग माग गरेका छन् ।

बागमती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई अनुदानबापत यसअघि ३० करोड रुपियाँ विनियोजन गरेकोमा स्थानीय तहलेसमेत अनुदान दिएकाले दोहोरो अनुदान हुने भन्दै त्यसलाई घटाएर पाँच करोड रुपियाँमा झारेको छ । ‘मिल्क होलिडे’ अन्त्यका लागि समेत प्रदेश सरकारले चासो नदिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष हरिप्रसाद कँडेलले बताउनुभयो । उहाँले किसान जोगाउने काम नभएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । आन्दोलित किसानका अनुसार मकवानपुर र चितवनका विभिन्न पालिकाले किसानलाई दुग्ध उत्पादनबापत अनुदानको व्यवस्था गरेका छैनन् । तर, प्रदेश सरकारले अनुदान कटौती गर्दा उनीहरू प्रत्यक्ष मारमा परेका छन् । 

बागमती प्रदेशका दुग्ध उत्पादक सबै किसानले अनुदान पाउनुपर्ने माग गर्दै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौँडामा तालाबन्दी गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो । दुध बेच्न मुस्किल भइरहेको अवस्थामा बेचेको दुधको रकम भदौदेखि भुक्तानी नपाउँदा कृषि मन्त्रालयलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको उहाँको भनाइ छ ।