म्याग्दी, माघ १६ गते । रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका-३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढाल्ने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।
रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाइ छ । फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान नवीनसँगै टुनीको दाउरा काट्न जानुभएको थियो ।
नवीनले रुख ढाल्ने मेसिन चलाउने र मानबहादुर भण्डारी बाटोमा मानिस हेर्न बस्नुभएको थियो । भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो । मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । रासस