• ४ पुस २०८१, बिहिबार

क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गरौँ: प्रधानमन्त्री

blog

काठमाडौँको लैनचौरको सहिद स्मृति पार्कमा सहिदहरूप्रति सलामी दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर: केशव गुरुङ

काठमाडौँ, माघ १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका स्राेत र पथप्रदर्शक रहेको बताउनुभएको छ । 

मङ्गलवार सहिद दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको दिन महान् सहिदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्न आग्रह गर्नुभयो । उहाँले सहिदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘जहानियाँ राणाशासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति वि.सं.१९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतको स्मरण र सम्मानमा हामीले प्रत्येक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाउँदै आएका छौँ ।


यस सन्दर्भमा आफ्नो जीवन अर्पण गर्ने महान् सहिदहरूप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण बेपत्ता भएका योद्धाहरूप्रति उच्च सम्मान र स्मरण गर्दछु । नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् सहिदहरूले उच्च बलिदान गर्नुभएको छ । 

राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत हामी सबैका लागि प्रेरणाका स्राेत र पथप्रदर्शक रही रहनेछन् । आजको दिन महान् सहिदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्ने दिन पनि हो । त्यसका निम्ति मन, वचन र कर्मले हामी सबै क्रियाशील रहन सकौँ ।’

लैनचौरको सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, काठमाडाैँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोललगायतको उपस्थिति थियो ।