होमराज रानाभाट
कावासोती माघ १६ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १६ मा सालको पातको दुना, टपरी बनाएर बिक्री गर्ने र विदेश जानेहरूलाई प्रेरणाका स्राेत मात्रै होइनन कमाई लिन र रोजगारी दिन दुवै सक्षम भएका छन् दुना टपरी व्यवसायी वासुदेव गिरी ।
आफू सँगका साथीभाइ सबै पैसा कमाउन बिदेसिए तर गिरी विदेशको नाम उच्चारण गर्न पनि मान्दैनन् र दुना टपरी उद्योग चलाएर मासिक चार लाख बढी कमाउँछन् र आफ्नो उद्योगमा ६५ बढी महिलालाई रोजगारी दिन समेत सफल भएका छन् ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं १६ अज्यौलीको डण्डाबजारमा इन्द्रदेव दुना टपरी उद्योग सञ्चालन गरेका गिरीले सालको दुना टपरी बनाएर मासिक चार लाख बढी कमाउने गरेको बताउनुहुन्छ भने कारखाना नै चलाएर धेरैलाई रोजगारी दिएको बताउनुहुन्छ ।
४० वटा दुना टपरी बनाउने मेशिन चलाएर राम्रो आम्दानी लिन सफल गिरी त्यहाँ उत्पादित दुना टपरी काठमाडौँ, पोखरा, नारायणगढ, बुटवल, लगायत देशको सबै ठाउँमा सजिलै बिक्री हुने गरेको बताउनुहुन्छ ।
दुना टपरी उद्योगमा कामदारका रुपमा रहेका दलबहादुर विकले यसबाट राम्राे आम्दानी लिन सफल भएका बताउनुहुन्छ । मेशिनमा जति धेरै दुना टपरी बनायो त्यति धेरै पैसा कमाउन सकिने र यो पेशा नै रोजगारीको राम्राे र भरपर्दो आयस्राेत भएको अर्की रामकुमारी थापाको भनाइ छ ।
नेपाल भरि यसको व्यापार राम्राे रहेको र सालको दुना टपरी ठुलो बण्डलको एक सय पचास र सानो बण्डलको असी रुपियाँमा र थोकका एक रुपियाँमा बिक्री हुने गरेको सञ्चालक गिरीको भनाई छ ।
बिहे भोज देखि व्रतबन्ध, पूजापाठलगायत हरेक शुभ कार्यमा दुना टपरीको माग अत्यधिक बढ्न थालेपछि पुर्याउन धौ धौ हुने गरेको गिरीको भनाइ छ ।