भावना जोशी
अत्तरिया, माघ १६ गते । सुदूरपश्चिम प्रदेश लागुऔषध कारोबारी तथा प्रयोगकर्ताका लागि मुख्य अखडा बन्न थालेको छ । लागुऔषध कारोबारीले कारागार र प्रयोगकर्ताका कारण सुधारगृह भरिन थालेका छन् । लागुऔषध कारोबार तथा सेवनमा बालबालिकादेखि वृद्धसम्म संलग्न रहेको पाइएको छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागुऔषधका लागि काठमाडौँपछि कैलाली जिल्ला दोस्रो स्थानमा छ ।
विगत तीन वर्षको तथ्याङ्क हेर्दा कैलालीमा सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता र कारोबारी देखिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले लागुऔषध दुव्र्यसन चुनौतीपूर्ण समस्याका रूपमा फैलिएको जनाएको छ ।
चालु आर्थिक वर्षमा लागुऔषध मुद्दामा कैलालीबाट २३६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । १६३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । त्यस्तै छिमेकी जिल्ला कञ्चनपुरमा १४८ जना पक्राउ परेका छन् भने ८९ वटा मुद्दा दर्ता भएका छन् । यो आवको पुस मसान्तसम्म सुदूरपश्चिममा मात्र ४२४ जना पक्राउ गरी २७८ मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका अभियुक्तबाट ९१ किलो गाँजा, ६९ किलो चरेस, तीन हजार ७२५ मिलिग्राम हेरोइन बरामद गरिएको छ ।
आव २०७९/८० मा यस प्रदेशमा ८५६ जना पक्राउ र ५४० मुद्दा दर्ता भएका थिए । चार भारतीय नागरिकसमेत पक्राउ परेका थिए । भारतसँग सीमा जोडिएकाले अधिकांश लागुऔषध भारतबाट आयात हुने गरेको दाबी प्रहरीको छ ।
पक्राउ परेकाबाट ५० किलो गाँजा, १९ किलो चरेस, ४६२ मिलिग्राम हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कैलाली जिल्ला कारागारमा अन्य कैदीबन्दीको तुलनामा लागुऔषध मुद्दाका कैदीबन्दीको सङ्ख्या दोब्बर छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला कारागारमा २२३ जना लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी छन् । लागुऔषध प्रयोगकर्ता युवा र किशोर/किशोरीको सङ्ख्या सबैभन्दा बढी छ ।
भारतसँगको खुला सीमा चुनौतीपूर्ण
लागुऔषधमा हेरोइन, कफसिरप, प्रिगाभा, डाइजेपाम, फोटिविन, पेनकिलर, नाइट्रोभ्याटलगायत सुईबाट प्रयोग हुने औषधीजन्य लागुऔषध अत्यधिक प्रयोग हुने गरेको जनाइएको छ । कतिपय लागुऔषध भारतीय बजारबाट सजिलै खरिद गरेर नेपाल ल्याउने गरिएको छ ।
नेपालमा पाँच हजार रुपियाँ मूल्य पर्ने ब्राउन सुगर (खैरो हेरोइन) भारतीय बजारमा दुई हजारमै पाइने गरेको छ । यसको प्रयोगकर्ता धेरै जसो १४ देखि २६ वर्ष उमेरका छन् । यसका सेवनकर्ताले धेरै जसो लागुऔषध भारतीय बजारमै गएर सेवन गर्ने र कतिपय लागुऔषध नेपालमै पाइने बताएका छन् । प्रहरीले जहिले पनि प्रयोगकर्ता तथा साना कारोबारीलाई मात्र पक्राउ गर्दा ठुला कारोबारी फस्टाउने गरेको प्रयोगकर्ता नै बताउछन् ।
प्रहरीका अनुसार भारतसँगको खुला सीमाका कारण कैलाली र कञ्चनपुरमा सहजै रूपमा लागुऔषध भित्रिने गरेको छ । स्थानीय बजारमा किनबेच गर्न नपाए भारतीय बजार पलिया गएर सहजै रूपमा खरिद तथा सेवन गर्ने गरेको पाइएको छ ।
कतिपय भारतीय नागरिकसमेत लागुऔषध कारोबार गर्न नेपालमै आउने गरेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले कञ्चनपुरमा एकाइ कार्यालय स्थापना गरे पनि त्यसको सक्रियता कम देखिएको छ । एकाइमा कार्यरत तीन प्रहरी कर्मचारीले नौ वटा जिल्लामा विस्तार हुँदै गएको लागुऔषध नियन्त्रण गर्न चुनौतीपूर्ण रहेको ब्युरो प्रवक्ता जोशीले बताउनुभयो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) रवीन्द्र केसी लागुऔषधसम्बन्धी मुद्दा र पक्राउ परेकाको तथ्याङ्क बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।