• ११ मंसिर २०८१, मङ्गलबार

ककनी गौरीवन सहकारीमा ८६ लाख बढी रकम ठगी

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ १६ गते । ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेड ओखलढुङ्गाले हाल सम्म ८६ लाख भन्दा बढी रकम ठगी भएको पाइएको छ । सहकारीले बचतकर्ताको ४६ लाख ८७ हजार ५८६ र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ३९ लाख ८५ हजार १३९ गरी ८६ लाख ४५ हजार ७०७ रुपैयाँ रकम ठगी भएको पाइएको हो । 

बचतकर्ताका रकम ठगी गरेको आरोपमा सहकारीका सञ्चालक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ओखलढुङ्गामा आठ वटा जाहेरी परेको प्रहरी निरीक्षक बालिष्टार सिंहले बताउनुभयो । संयुक्त आठ वटा जाहेरी मार्फत १०१ जना पीडितले सञ्चालक विरुद्ध उजुरी दिएको प्रहरी निरीक्षक सिंहको भनाई छ । हाल सम्म प्राप्त जाहेरीको आधारमा ८६ लाख ४५ हजार ७०७ रुपैयाँ ठगी भएको विवरण प्राप्त भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । जाहेरी पर्ने र पीडित प्रहरीको सम्पर्कमा आउने क्रम जारी रहेकाले ठगी भएको रकम बढ्न सक्ने बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले एक सूचना जारी गरी यस सहकारी संस्थाबाट कोही ठगीमा परी पीडित भएको भए जाहेरी दर्खास्त दिन अनुरोध गरेको छ । ठगीमा परेकाले उजुरी दिन बाँकी कोही भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । बचतकर्ताको रकम ठगी गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका–९ विलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष विनोद सुनुवारलाई काठमाडाैँ महानगरपालिका–६ बौद्धबाट र उपाध्यक्ष मोलुङ गाउँपालिका–४ हर्कपुर ओखलढुङ्गाका पदम बहादुर खत्रीलाई घरैबाट बुधबार पक्राउ गरिएको प्रहरी निरीक्षक बालिष्टार सिंहले बताउनुभयो । यसका साथै सहकारीका कोषाध्यक्ष पाँचथर जिल्ला साबिक इङबुङ गाविस–१ हाल सिद्धिचरण नगरपालिका–१२ भैरबटोल ओखलढुङ्गा बस्ने ४८ वर्षीय नेत्रबहादुर नेम्वाङलाई सिद्धिचरण नगरपालिका–६ जन्तरखानीबाट प्रहरीले पक्राउ गरेको छ । 

तीनै जना लामो समय देखी फरार थिए । पक्राउ परेकाहरू माथि जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद लिइएको प्रहरी निरीक्षक सिंहको भनाई छ । पक्राउ परेको सहकारीका अध्यक्ष सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुङ्गाका जिल्ला सचिव र नेम्बाङ जनता समाजवादी पार्टीका नेता हुन् । बचतकर्ता मध्येका तिलक श्रेष्ठले गत मङ्सिर १५ गते सहकारीका सञ्चालक विरुद्ध जाहेरी दर्ता गर्नुभएको थियो । सहकारी मार्फत ठगिएका बचतकर्ताहरू धमाधम प्रहरीको सम्पर्कमा आउने क्रम बढी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।