• ११ मंसिर २०८१, मङ्गलबार

बलिदानीको मूल्य

blog

नेपाली राजनीतिको ऐतिहासिक पाटोको विश्लेषण तथा यसको मान्यता र पद्धतिको पैरवी गर्दै आएका छौँ । राष्ट्रको स्वाभिमान र जनताको उन्मुक्तिको अभियानमा इतिहासका विभिन्न कालखण्डमा सपुतले दिएको योगदान स्मरणीय हुन्छ । यही योगदानलाई हरेक वर्ष स्मरण गर्न हामी सहिद दिवस मनाउँछौँ । १०४ वर्षीय निरङ्कुश राणा शासनको क्रुर हुकुमी शासनका विरुद्धमा नेपाली जनताले विद्रोह गरे । प्रजातन्त्रका स्वप्निल पक्षलाई उजागर गरे । आफ्नो प्राणको आहुति दिए । देश र जनताका लागि आफ्नो प्राण आहुति दिने तिनै सहिदप्रति उच्च सम्मान प्रकट गर्ने दिन हो आज । 

जनताको उन्मुक्ति र जनप्रतिनिधिमूलक संस्थाको अपरिहार्यताको विमर्श गर्दा हामीले कहिल्यै भुल्न नसकिने राष्ट्रिय व्यक्तित्वमा अमर सहिदको नाम अग्रपङ्क्तिमा आउँछ । नेपालले अभ्यास गरी आएको लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकास तथा जनतालाई अधिकारसम्पन्न नागरिक बनाई सङ्घीय राज्य संरचनाका मान्यतालाई कार्यान्वयन तहमा ल्याउने दिशामा परिणाममुखी कार्य भएमा त्यो नै राज्य र जनताका तर्फबाट वीर सपुतप्रति सच्चा श्रद्धाञ्जली हुन सक्छ । यस मानेमा प्रत्येक वर्ष मनाइने सहिद सप्ताह र औपचारिक कार्यक्रमले मात्र हाम्रा सहिदको सपना साकार हुन सक्दैन । सहिदले कोरेका पथमा दृढ इच्छाशक्ति र इमानदारीका साथ अगाडि बढ्नुमा विवेकशील र सचेत नागरिकको दायित्व पनि हो । 

नेपाली जनतालाई रैतीबाट सम्मानजनक नागरिक बनाउने अभियानमा निरङ्कुश राणा शासनको समयमा बुलन्द आवाज उठाउने वीर सहिदको गाथाले इतिहासका स्वर्णिम पाना भरिएको छ । यसको आफ्नै विशेषता छ, महत्व इतिहासले कोरेको छ र वर्तमानले बुझेको छ । नेपालको राजनीतिक इतिहासमा विसं २००७ को प्रजातान्त्रिक आन्दोलन र यसको उपलब्धि तत्कालीन घटनाक्रममा राजा र आन्दोलनकारी राजनीतिक शक्तिको ऐतिहासिक सहकार्य र प्रजातन्त्रप्रतिको जनउभारको परिपोषकका रूपमा लिन सकिन्छ । प्रजातन्त्रको स्थापना र नागरिक अधिकार प्रत्याभूतिका लागि जयतु संस्कृतम् तथा नेपाल प्रजापरिषद्ले प्रारम्भिक समयमा निर्वाह गरेको भूमिका स्मरणीय छ । 

प्रतिकूल अवस्थामा पनि प्रजातान्त्रिक अधिकारका अग्रज अभियन्ताको अथक प्रयास रह्यो । प्रजातान्त्रिक विचार, मान्यता र अभियानलाई उनीहरूले निरन्तरता दिए । उनीहरूको यस साहसिक कार्य हाम्रा लागि प्रेरणापुञ्ज हुन् । १०४ वर्षको जहानियाँ निरङ्कुश राणा शासनका विरुद्धमा निडर भएर शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले जीवन आहुति दिए । त्यसैले त उनीहरू सहिदको दर्जामा सम्मानित छन् । प्रजातन्त्र स्थापनाका लागि उनीहरूको योगदानलाई हामीले कसरी लिन्छौँ, यसले नै आजको दिनमा महत्व राख्दछ । 

नेपालको प्रजातान्त्रिक आन्दोलन, शासक वर्गको निरङ्कुशता र स्वैच्छाचारिताविरुद्ध इतिहासका विभिन्न कालखण्डमा विद्रोह र सशस्त्र आन्दोलन भएका छन् । राणा प्रधानमन्त्री रणोद्वीप सिंहको शासनविरुद्ध असफल सैनिक विद्रोह भएको थियो । यस विद्रोहमा चौतारिया पुष्कर शाहका छोरा कर्णेल अमरविक्रम शाहलाई तात्कालीन शासकले मृत्युदण्ड दिएको थियो । यसै गरी सहिद लखन थापा मगरलाई नेपालको पहिलो सहिदका रूपमा मानिन्छ, जसले तात्कालीन राणा शासनविरुद्ध जनविद्रोहको विगुल फुक्ने साहस गरे । 

त्यसै गरी लेखक तथा सामाजिक अभियन्ता कृष्णलाल अधिकारीले मकैको खेती नामक साहित्यिक कृतिका माध्यमबाट नेपाली जनतामा राणा शासनविरुद्ध जनचेतना फैल्याउने काम गरे । २००७ सालको प्रजातान्त्रिक आन्दोलनका सशक्त योद्धा टङ्कप्रसाद आचार्य जिउँदा सहिदका रूपमा सम्मानित छन् । प्रजातान्त्रिक आन्दोलनमा योद्धाहरूले पञ्चायती निरङ्कुशता र बर्बरताविरुद्ध आन्दोलनको उभार र ज्वारभाटा ल्याउने सत्प्रयास गर्दा सहिद भीमदत्त पन्त, दुर्गानन्द झा, रत्नकुमार वान्तवा तथा क्याप्टेन यज्ञबहादुर थापाले वीरगत प्राप्त गरेका थिए । 

औपचारिक रूपमा सहिद दिवसको कार्यक्रमको थालनी २०१२ सालमा तत्कालीन काठमाडौँ नगरपालिकाको अगुवाइमा भएको थियो । सहिदको योगदानको उच्च सम्मान गर्दै सहिद सप्ताहका रूपमा मनाउने त्यो बेलादेखिको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सहिद सप्ताहको कार्यक्रम माघ १० गतेदेखि १६ गतेसम्म मनाइँदै छ । मुलुकमा प्रजातन्त्र र नागरिकको स्वतन्त्रताका लागि अमूल्य जीवन आहुति दिने सहिदहरूको उच्च मूल्याङ्कन गर्दै यो दिवस मनाउँदै आइएको छ । सहिदका गाथाले इतिहासमा छुट्टै पहिचान र आस्थाको सोपान झल्किन्छ । 

पञ्चायती व्यवस्थाको ३० वर्षसम्मको निकै कहालीलाग्दो कालखण्डमा जनअधिकार र बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका लागि धेरै वीरले बलिदानी दिए । तिनकै योगदानले २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भयो । यसकै उपलब्धिका रूपमा निरङ्कुश पञ्चायती व्यवस्थाको अवसान भयो र प्रजातान्त्रिक बहुदलीय व्यवस्था पुनस्र्थापना भयो । २०६२/६३ सालको दोस्रो ऐतिहासिक जनआन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्‍यो । २०७२ साल असोज ३ गते ऐतिहासिक संविधान सभाले बनाएको नेपालको संविधान राष्ट्रप्रमुखबाट जारी भयो । यसरी नेपालको संविधान २०७२ हामी नेपालीले प्राप्त गरेका हौँ । मुलुक विधिवत् संवैधानिक राजतन्त्रबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन पद्धतिको युगमा प्रवेश गर्‍यो । लोकसम्मति र जनताद्वारा लोकतान्त्रिक विधिबाट निर्वाचित जनप्रतिनिधिले निर्माण गरी कार्यान्वयनमा आएको नेपालको संविधान कार्यान्वयन भइरहेको छ ।  

नेपाली जनताका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार खोसिएको एक शताब्दीभन्दा बढी समयको निरङ्कुश राणा शासन अन्त्यका लागि सहिदको योगदान आजका दिनमा पनि त्यति नै अविस्मरणीय छ । देशमा लोकतान्त्रिक गणतन्त्रको बीजारोपण भएसँगै राजनीतिक उपलब्धि पूरा भएको आभास दिन अब संस्थागत विकासतिर लाग्नु जरुरी छ । सहिदले कल्पना गरेको समाज निर्माणको अभियान अझै सकिएको छैन र वर्गीय शोषण र असमानता विद्यमान छ । समाजमा आमूल रूपान्तरण तथा असमानताको अन्त्यका लागि लोकतान्त्रिक सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्छ । अनि सहिदको सपना साकारोन्मुख होला । 

मुलुकलाई समृद्धि र दिगो विकासतर्फ उन्मुख गराउने सवालमा सरकार, राजनीतिक दल तथा सरोकारवाला गाम्भीर हुनु अपरिहार्य छ । अनि मात्र हाम्रा राजनीतिक अभ्यास र संस्कारले लोकतन्त्रको मियोका रूपमा रूपान्तरित हुने अवसर पाउने छ । लोकतन्त्रको सार र राजनीतिक इमानदारीको कसी भन्नु नै जनमतको भावनालाई अनुप्राणित गर्न सक्ने क्षमता राज्य शक्तिको रूपान्तरणमा हुनु पर्दछ । लोकतान्त्रिक व्यवस्था, मानवाधिकार तथा प्रेस स्वतन्त्रताको पूर्णतः प्रत्याभूति, बहुलवाद तथा बहुपहिचानको मान्यता र मर्मलाई मुखरित गर्ने आगामी कदमले महत्व राख्दछ । 

राष्ट्रियता, लोकतन्त्र र विकासका आयामसँग लोकतन्त्रका मान्यता र उपागम अनुप्राणित हुन सक्नु पर्दछ । जनताको अभिमतलाई सम्मान गर्नु पर्छ । प्रतिनिधिमूलक संस्थाको निरन्तरता र स्थायित्व कायम गर्नु पर्छ । निर्वाचित संस्थाको महìवलाई कायम राख्न सक्नु पर्छ । प्रसिद्ध राजनीतिक विश्लेषक डा. बिआर अम्बेडकरले भन्नुभएको छ, “यदि लोकतन्त्रलाई नितान्त सामाजिक मूल्यमा रूपान्तरण गरिएन भने यो अन्ततोगत्वा निरङ्कुशतन्त्र हुन्छ र सरकार सञ्चालनको पद्धति अति नै निकृष्ट हुन आउँछ, जसका कारण आमनागरिकले पहिलेको खरो अधिनायकवादी शासन पद्धतिलाई समेत बिर्सने छन् तथा लोकतन्त्र फगत निर्वाचक लोकतन्त्रमा मात्र सीमित हुने छ ।” 

सहिदको सपनालाई साकार पार्ने सवालमा राजनीतिक तथा नागरिक क्षेत्रको समान चासो र गाम्भीर्य भएमा भोलिको सुनौलो नेपाल टाढा छैन । लोकतन्त्रको स्थापना र संस्थागत विकासका लागि सहिदले दिएको बलिदानीको मूल्यलाई जनताको अधिकार सुनिश्चित गर्न र देश विकासमा परिणत गर्न सक्नु पर्छ । लोकतन्त्रको संस्थागत विकासमा सहादत प्राप्त गर्ने ज्ञात/अज्ञात सहिदप्रति सच्चा श्रद्धाञ्जलीसहित उनीहरूले देखाएको बाटोमा हिँड्नु पर्छ । सहिद दिवस मनाउनुको मूल सन्देश पनि यही हो ।    

Author

मनोहर कार्की