• १९ वैशाख २०८१, बुधबार

अभिमुखीकरण तालिम नयाँ कार्यविधि, कार्यान्वयनमा लैजान सहमत

blog

काठमाडौँ, माघ १६ गते । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने पूर्वप्रस्थान अभिमुखीकरण तालिम दोस्रो संशोधित कार्यविधि अनुसार सञ्चालन गर्ने विषयमा सरोकारवाला संस्थाहरूले प्रतिबद्धता जनाएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान तालिम प्रदायक संस्था र अन्य सरोकारवाला संस्थाका प्रतिनिधिसँग गरेको छलफलमा सहभागीले नयाँ कार्यविधि अनुसार तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालयका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ को दोस्रो संशोधनमा गरिएका प्रावधान बिस्तारै कार्यान्वयनमा लैजाने विषयमा तालिम प्रदायक संस्थाहरू सहमत भएका छन् ।  

अभिमुखीकरण तालिमको शुल्क चार गुणा बढाएर श्रमिकलाई आर्थिक भार परेको चौतर्फी आलोचना भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि श्रममन्त्री, सचिव र अन्य पदाधिकारीलाई बोलाएर तालिम शुल्क वृद्धि नगर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि श्रम मन्त्रालयले तालिम प्रदायक संस्था र अन्य सरोकारवालालाई बोलाएर नयाँ कार्यविधि अनुसार व्यवस्थित तालिम सञ्चालनको विषयमा छलफल गरेको हो । सो विषयमा तालिम प्रदायक संस्थाका प्रतिनिधि सहमत भएका छन् ।

नयाँ संशोधित कार्यविधिमा वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण तालिम अन्तर्गत गन्तव्य मुलुकमा जाँदा हवाईजहाजमा सिटबेल्ट बाँध्नेदेखि त्यहाँको भाषा, संस्कृति, रोजगारीको प्रक्रिया, सुरक्षा, प्रहरी नियम, मानसिक स्वास्थ्य समस्या हुँदा अपनाउनुपर्ने प्राथमिक उपचार र रोजगारदाताबाट कुनै समस्या भएमा अपनाउनुपर्ने कानुनी उपचारसम्म जानकारी दिने व्यवस्था छ । नयाँ कार्यविधि अनुसार अनलाइन परीक्षा पनि अनिवार्य गरेर कम्तीमा ५० अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको छ । संशोधित कार्यविधिमा तालिम शुल्क दुई हजार एक सय रुपियाँ र परीक्षा शुल्क सात सय रुपियाँ गरी दुई हजार आठ सय रुपियाँ तोकिएको थियो । यसअघि तालिम शुल्क सात सय रुपियाँ मात्रै थियो । परीक्षाको व्यवस्था थिएन । 

श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले तालिम प्रदायक संस्थाका प्रतिनिधिसँग भएको छलफलमा नयाँ कार्यविधिमा तोकिएको शुल्कबाहेक अन्य व्यवस्थाको बिस्तारै कार्यान्वयन गर्ने विषयमा सहमत भएको जानकारी दिनुभयो । नयाँ कार्यविधि अनुसार तालिम सञ्चालन गर्दा सात सय रुपियाँ नपुग्ने भन्दै उहाँले भन्नुभयो, “श्रमिकलाई आर्थिक भार नपर्ने गरी कसरी तालिम सञ्चालन गर्ने विषयमा छलफलकै चरणमा छौँ । स्रोत कहाँबाट र कसरी जुटाउन सकिन्छ भन्ने विषयमा छिटो टुङ्ग्याउँछौँ ।” 

प्रवक्ता पोखरेलले भन्नुभयो, वैदेशिक रोजगारमा जाने श्रमिकले भोग्दै आएका समस्याको जुन अवस्था छ त्यसलाई शून्यमा झार्ने उद्देश्यका साथ नयाँ कार्यविधि ल्याइएकाले त्यसै अनुसार काम गर्ने विषयमा तालिम प्रदायक संस्थाबाट प्रतिबद्धता आएको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनिवार्य रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिएर मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाउने र क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता आएको छ । 

संशोधित कार्यविधि अनुसार प्रत्येक प्रशिक्षण कक्षामा ८४ इन्चका दुई स्मार्ट बोर्ड, कम्प्युटर प्रिन्टर र विभागको फेमिस प्रणालीसँग मेल खाने आइरिस रेटिना हाजिर मेसिनको व्यवस्था गर्नुपर्ने छ । यस्तै तालिम केन्द्रको संरचना बनाएर विवरण बुझाउन वैदेशिक रोजगार विभागले तालिम केन्द्रलाई नयाँ कार्यविधि अनुसार विवरण पेस गर्न दुई पटक परिपत्र गरेको थियो । विभागले पहिलो पटक पुस १९ गतेसम्म र दोस्रो पटक माघ ५ गतेसम्म विवरण बुझाउन परिपत्र गरेको थियो । विभागको परिपत्र अनुसार अन्तिम माघ ५ गतेभित्र तालिम केन्द्रले कार्यविधि अनुसारको संरचना बनाइसक्नुपर्ने उल्लेख थियो ।  श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी सङ्घ, पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था एवं वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाका प्रतिनिधिबिच छलफल भएको थियो ।