काठमाडौँ, माघ १६ गते । कलाकारले वस्तु तथा सेवाको विज्ञापनमा अभिनय गर्दा प्रचलित ऐन, कानुन र सामाजिक दायित्वप्रति पनि सजग हुनुपर्नेमा जोड दिइएको छ ।
विज्ञापन बोर्ड र नेपाल कलाकार सङ्घको संयोजनमा विज्ञापन बोर्डद्वारा सोमबार राजधानीमा आयोजित विज्ञापनमा कलाकारको भूमिका विषयक छलफल कार्यक्रममा विज्ञापनले समाजलाई बिगार्ने काम गर्न नहुने बताइयो । कार्यक्रममा विभिन्न कम्पनी तथा उद्योगले उत्पादन गरेका वस्तु तथा सेवाको प्रचारका लागि गरिने विज्ञापनले कानुन उल्लङ्घन गरेमा कारबाही हुने, समाजमा गलत सन्देश जानेप्रति सचेत रहन पनि आग्रह गरिएको छ ।
विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले वस्तु तथा सेवाको प्रचारका लागि बनाइने विज्ञापनमा अभिनय गर्ने कलाकार र विज्ञापन निर्माणकर्तासमेत कानुनी पक्षमा अनभिज्ञ हुँदा कारबाहीको भागीदार बनेको प्रसङ्गबारे चर्चा गर्दै यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो ।
उहाँले विज्ञापन तथा नेपालका बनेका अन्य कानुन र नेपालको संविधानविपरीत हुने काम गरेमा जेल सजाय तथा जरिबाना तिर्नुपर्ने अवस्थाबारे पनि राष्ट्रका जिम्मेवार नागरिक, कलाकार तथा प्राविधिकले बुझ्न आवश्यक छ भन्नुभयो । विज्ञापनसम्बन्धी झुन्ड्याइने बोर्डमा विदेशी कलाकारको प्रयोगलाई पनि निरुत्साहित गरिने उहाँले बताउनुभयो । उहाँले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, कानुन र नियमावलीसमेत आइसकेको जानकारी दिँदै जिम्मेवार नेपाली नागरिकको हैसियतले त्यसबारे पनि अध्ययन र जानकारी राख्दै आफ्नो पेसा, व्यवसायलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले कलाकारको दायित्व समाजप्रति पनि हुने भएकाले काम गर्दा सचेत र कानुन अनुसार गर्नुपर्ने बताउनुभयो ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विज्ञापनमा कलाकारले कानुनबारे जानकारी नराखी अभिनय गर्दा दुःख पाउनु परेकाले यसबारे बुझाउन विज्ञापन बोर्ड, कलाकार र सम्बन्धित सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो । साथै सहरको सौन्दर्य नबिगारी नेपाली कलाकारको होर्डिङ बोर्ड राख्ने व्यवस्था मिलाउन पनि विज्ञापन बोर्डलाई उहाँले आग्रह गर्नुभयो ।
कलाकार घनश्याम खतिवडाले बोर्ड र सरोकारवाला संस्थाले विज्ञापन निर्माण, अभिनय, स्क्रिप्ट लेखनबारे कार्यशाला, प्रशिक्षणको आयोजना गर्नुपर्ने बताउनुभयो । यस्तै कलाकार मदनदास श्रेष्ठ, गौरी मल्ल, दीपाश्री निरौला, विशाल पहाडीलगायतले मर्यादित र व्यावसायिक विज्ञापन निर्माणका लागि बोर्डले ल्याएको नीति पालना गर्दै कलाकारले आफ्नो दायित्व निर्वाह गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।
विभिन्न वस्तु तथा सेवाको प्रचारका लागि गरिने विज्ञापन मर्यादित बनाउन विज्ञापन (नियमन गर्ने) ऐन २०७६, विज्ञापन नियमन गर्ने नियमावली (पहिलो संशोधन, २०८०) र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी भई कार्यान्वयनमा ल्याइएको छ । विज्ञापन निर्माण गर्दा राष्ट्रियता एवं राष्ट्रिय स्वाधीनतामा खलल पुर्याउन नहुने तथा कानुनले निषेध गरिएका वस्तु र सेवाको प्रचार गर्न नहुने आचारसंहितामा उल्लेख छ ।
त्यसै गरी विज्ञापनहरू लैङ्गिक र उपभोक्तामैत्री हुनुपर्ने, अश्लील र हिंसालाई प्रोत्साहन गर्ने तथा अफवाह फैलाउने खालका हुन नहुनेलगायतका कुरामा सहभागीले जोड दिएका छन् ।