• १३ साउन २०८१, आइतबार

गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठान बनाउँछौँ : स्वास्थ्यमन्त्री बस्नेत

blog

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत कार्यक्रममा सम्मानित गर्नुहुँदै ।

गोरखापत्र अनलाइन 

काठमाडौं, माघ १५ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सहिद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताउनु भएको छ । केन्द्रको २८ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले केन्द्रलाई प्रतिष्ठान बनाउने प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउनुभयो ।

मुटु रोगको उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “‘गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठानको रूपमा अगाडि बढाए मात्र भविष्यमा हुनसक्ने जनशक्ति अभावको समस्या समाधान गर्न सकिन्छ भन्ने ठानेर नै सरकारले प्राथमिकतामा राखेर प्रतिष्ठान बनाउने काम अगाडि बढेको छ ।” 

विद्यमान चिकित्सा शिक्षा ऐनका कारण अहिले कयौँ विद्यार्थी चिकित्सा शिक्षा अध्ययनकै लागि विदेश जानु परेको स्मरण गर्दै मन्त्री बस्नेतले सरकारले चाँडै चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर देशलाई मेडिकल शिक्षाको हबको रूपमा विकास गर्ने दाबी गर्नुभयो । गंगालाल हृदय केन्द्रले मुटु रोगको उपचारका क्षेत्रमा देशमा मात्र नभएर दक्षिण एसियामै आफूलाई अब्बल साबित गरिसकेको बताउँदै देशका अरू अस्पतालले पनि गंगालालबाट सिक्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहिद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले केन्द्रले गत वर्ष मात्र एक हजार ८ सय ३८ जनाको मुटुको शल्यक्रिया गरेको जानकारी दिँदै सरकारले प्रतिष्ठान नबनाए भविष्यमा कार्डियाक सर्जनको अभाव हुने बताउनुभयो । डा. मल्लले विगत ७ वर्षदेखि कार्डियाक सर्जरी विधामा कोही भर्ना हुन नआएको बताउँदै त्यो अवस्था अन्त गर्न प्रतिष्ठान बनाउनु आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा सांसद प्रदीप पौडेलले गंगालालले आत्मनिर्भर भएर उदाहरणीय अस्पतालको रूपमा आफूलाई उभ्याएको र अन्य अस्पतालले पनि पाठ सिक्नु पर्ने बताउनुभयो । कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केन्द्रमा रहेर २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई सम्मान गर्नुभयो । कार्यक्रम केन्द्रका संस्थापक अध्यक्ष डा. अरुण सायमीको अध्यक्षतामा सम्पन्न भएको थियो । २०५२ सालमा ९ शय्याबाट सुरु भएको गंगालाल हृदय केन्द्र अहिले ३०० श्प्या सञ्चालित छ ।