• १३ असोज २०८१, आइतबार

प्रधानसेनापति खुला म्याराथन फागुनमा

blog

फाइल तस्बिर

काठमाडौँ, माघ १५ गते । प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता-२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ । नेपाली सेनाको आयोजनामा सञ्चालन हुने नवौँ संस्करणको उक्त प्रतियोगिता आगामी फागुनमा १९ गते सञ्चालन हुने भएको हो । 

नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले प्रतियोगिता विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ४२-१९५ किमीको म्याराथन, हाफ म्याराथन, १० किमी दौड, पाँच किमीको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राका लागि पाँच किमीको दौड हुनेछ । महासेनानी थापाले प्रतियोगिताका लागि खेलाडी छनोट गरी अभ्यास गरिरहेको बताउनुभयो । 

म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने अन्य विधाको खेलमा महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् । म्याराथनमा पहिलो हुने खेलाडीले तीन लाखसहित एक थान यमाह कम्पनीको मोटरसाइकल पाउने छन् । दोस्रोले दुई लाख, तेस्रोले एक लाख, चौथोले ५० हजार, पाँचौँले ३० हजार, छैटौँले २५ हजार र सातौँ हुने खेलाडीले २० हजार पाउने आयोजकले जनाएको छ । 

सोही विधामा आठौँ हुने खेलाडीले १५ हजार, नवौँ हुने खेलाडीले १० हजार तथा १०औँ हुने खेलाडीले पाँच हजार पाउने छन् । हाफ म्याराथनतर्फ पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार पाउने छन् । पहिलो हुने खेलाडीले ७५ हजारसहित यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । 

त्यस्तै १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १० हजार, सात हजार र पाँच हजार पाउने छन् । पाँच किमीको छात्रछात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुने खेलाडीले पाँच हजार पाउनेछन् । रासस