• १० मंसिर २०८१, सोमबार

कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नुहुँदैनः अध्यक्ष केसी

blog

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी ।

काठमाडौं, माघ १५ गते । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्ने कुरामा धेरै सजग हुन जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष केसीले मदिरा, चुरोटलगायतका विज्ञापन कलाकारहरुले गर्न नहुने  बताउनुभयो । उहाँले गलत सन्देश दिने विज्ञापन गर्न नहुने विचार राख्नुभयो । उहाँले कलाकारहरुले सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्ने बताउनुभयो । विज्ञापनदाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सतर्क हुन जरुरी रहेको जानकारी दिनुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘‘कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्ने कुरामा धेरै सजग हुन जरुरी छ । कुनै मदिरा वा कुनै चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नुहुँदैन । गलत सन्देश फैलाउने विज्ञापन पनि कलाकारले गर्नुहुँदैन । समाजमा कहिलेकाहीँ एकदमै राम्रा सामाजिक कामका विज्ञापन निःशुल्क पनि गरिदिनुपर्छ र गरेका पनि छौँ । त्यस्तोमा कलाकारहरु सजग हुनुपर्छ र विज्ञापनदाताले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सजग हुनुपर्छ ।’’ अध्यक्ष केसीले नेपालमा चल्ने कुनै पनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने बताउनुभयो ।