कञ्चनपुर, माघ १४ गते । शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु. पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकरबाहेक)मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ ।
अस्पताल निर्माणका लागि एमके वबिल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ । सम्झौताअनुसार अस्ताल भवनको तीन ब्लकमा निर्माणकार्य भइरहेको छ । पहिलो र दोस्रो ब्लकमा छत राख्ने कार्यसँगै चिनाइ, प्लाष्टरलगायतको कार्य पूरा भएको छ भने तेस्रो ब्लकमा छत राख्नका लागि सटरिङको कार्य भइरहेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताउनुभयो ।
इन्जिनियर धामीका अनुसार तीन वर्षअघिदेखि निर्माण अगाडि बढाइएको अस्पतालको हालसम्म ५५ प्रतिशत निर्माण पूरा भएको छ । “निर्माण व्यवसायीलाई कार्यप्रगतिका आधारमा हालसम्म रु. दुई करोड ५० लाख रकम भुक्तानी गरेका छौँ”, इन्जिनियर धामीले भन्नुभयो, “असार मसान्तसम्म निर्माण पूरा गर्नेगरी म्याद थप गरिएको छ ।”
निर्धारित समयभित्रै अस्पताल भवन निर्माणकार्य पूरा गराउनका लागि कार्य भइरहेको उहाँको भनाइ छ । अस्पताल भवन मन्त्रालयको मापदण्डअनुरुप निर्माण भइरहेको उहाँको दाबी छ । भवनमा मुख्य द्वार, गार्डपोष्ट, शवगृह, दश शय्याको प्राथमिक अस्पताल वार्ड, बिरामी जाँच्ने कोठा, कार्यालय कक्ष, सभाकक्ष, शौचालय, स्नानघर, बिरामी उपचार कक्ष, शल्यक्रिया कक्षलगायत निर्माण हुने उहाँले राससलाई जानकारी दिनुभयो ।
यसैगरी भवनसँगै ‘वाउन्ड्री वाल, एम्बुलेन्स पार्किङ’स्थल, स्वास्थ्यकर्मी आवास, भूमिकगत पानीटयाङ्की, फोहर पानी प्रशोधन गर्ने ठाउँ, पार्क, पहुँचमार्गलगायत निर्माण गरिनेछन् । भवन पूर्णरूपमा भूकम्पप्रतिरोधी हुने इन्जिनियर धामीले बताउनुभयो ।
अस्पताल निर्माण पूरा भएपछि यस क्षेत्रका बासिन्दाले उपचारका लागि टाढाको महेन्द्रनगर, धनगढी तथा भारतीय सहर पुग्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष कमल ठकुल्लाले बताउनुभयो । अस्पतालमा सामान्य प्राथमिक उपचारदेखि शल्यक्रिया सेवासमेत उपलव्ध हुने भएकाले नगर क्षेत्रका बासिन्दाले सहजरूपमा सेवा पाउने उहाँले उल्लेख गर्नुभयो ।
“पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकको व्यवस्था गरी बिरामीको उपचार व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “अस्पताल निर्माण पूरा भएपछि चिकित्सकसँगै दक्ष स्वास्थ्यकर्मीको सङ्ख्यामा वृद्धि गरी स्वास्थ्य सेवामा नगरवासीको पहुँच अभिवृद्धि हुनेछ ।” रासस