• १३ साउन २०८१, आइतबार

गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु

blog

गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवाको सुभारम्भपछि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल लगायत । तस्बिर :रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, माघ १४ गते ।
गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवाको सुभारम्भ गरिएको छ । हेमोडायलाइसिस सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा स्वास्थ्य मन्त्री खनालले प्रदेशअन्तर्गतका सबै अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु गरिने बताउनुभयो ।

यस वर्ष यस प्रदेश भित्रका ६ वटा अस्पतालमा डायलाइसिस सेवा सुरु गरेको स्वास्थ्य मन्त्रालयले सबै अस्पतालको थप सेवा विस्तार गर्ने बताउनुभयो । उहाँले संविधानले सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा तल्लो तहसम्म पुर्‍याउन मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

अस्पतालहरुमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै गुणस्तरीय उपचार सेवा प्रदान गर्न सकिने भन्दै मन्त्री खनालले अहिले पनि स्वास्थ्यमा एक सयभन्दा बढी दरबन्दी खाली रहेको बताउनुभयो । प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या परेको बताउनुभयो । समय–समयमा थप गरिएका सेवालाई निरन्तरता दिनुपर्ने भन्दै उहाँले लहडको भरमा नभई आवश्यकता र दिगोपनको सुनिश्चिता हुने गरी योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले हेमोडायलाइसिस सेवा सुभारम्भले गुल्मी जिल्लाको समुन्नतिमा एउटा इट्टा थप भएको बताउनुभयो । जिल्लामै हेमोडायलाइसिस सेवा सुरु भएकाले दुःखी र गरिब नागरिक सबैभन्दा धेरै लाभान्वित हुन पनि उहाँले आग्रह गर्नुभयो ।

नगरप्रमुख पन्थीले आफू निर्वाचित भएपछि रेसुङ्गा नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट गुल्मी तम्घासमै मिर्गौलाको डायलाइसिस सेवा आरम्भ गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको स्मरण गराउँदै निरन्तरको खटाई र पहलबाट आज सो निर्णय कार्यान्वयनमा आएको बताउनुभयो ।

उहाँले गुल्मी जस्तो दूर–दराजको ग्रामीण भू–भागका जनताले यो सेवाको अभावमा धेरै कष्ट बेहोर्नु परेको भन्दै सहजताका लागि जिल्लामै यस्तो निणर्य गरी अहिले सञ्चालनामा ल्याएको बताउनुभयो । नगरपालिकाले गुल्मी अस्पतालमै विशेषज्ञ डाक्टरलाई थप सेवा सुविधा दिएर हाडजोर्नी लगायतका विशेषज्ञ सेवा प्रवाह भइरहेको भन्दै गुल्मी अस्पताललाई मेरो अस्पताल भन्ने भावना जागृत गराउने गरी अगाडि बढिरहेको बताउनुभयो ।

गुल्मीमै डायलासिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य भएको छ । डायलासिस सेवाका लागि अस्पतालमा पाँच मेसिन छन् । त्यसमध्ये तीन वटासम्म नियमित सञ्चालन गर्न सकिने गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा.किशोर बञ्जाडेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी दुई वटा वैकल्पिक रुपमा राख्नुपर्ने हुन्छ । डायलासिस सेवाका लागि अस्पतालमा एक विशेषज्ञ डाक्टर र एक नर्सको व्यवस्था गरिएको छ । एक बिरामीले हप्तामा दुई पटक डायलासिस गराउनुपर्छ । एक पटकमा झण्डै पाँच घण्टा लाग्छ । अस्पतालमा हप्तामा नौ जनालाई डायलासिसको सेवा प्रदान गर्न सकिने बताउनुभयो ।