• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा कुष्ठरोगको जोखिम अझै कायमै

blog

विश्व कुष्ठरोग निवारणका लागि प्रदेशमा भइरहेको कार्यबारे जानकारी दिदैं डा. जगदीश जोशी। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ १३ गते। सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगको जोखिम अझै कायमै रहेको छ। ८८ पालिका रहेको यो प्रदेशको ४५ पालिकामा अझै पनि एक भन्दा बढी कुष्ठरोगी रहेका कारणले यो कुष्ठरोगको जोखिम कायमै रहेको हो।

सक्रिय कुष्ठरोगीबाट स्वासप्रस्वासको माध्यमबाट यो रोग अरुमा सर्ने गर्दछ। कम सर्ने रोग भएका कारणले सक्रिय कुष्ठरोगीको सम्पर्कमा लामो समयसम्म बसेका व्यक्तिलाई मात्रै यो रोग लाग्न सक्ने सम्भावना रहने गरेको जनाइएको छ। 

समाजभित्र अझै पनि कुष्ठरोगी लुकेर रहेकाले तिनको खोजपड्ताल गर्न र कुष्ठरोगलाई शून्यमा झार्न सबैको सहयोग आवश्यक रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले बताउनुभयो। 

उहाँले सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारबाट स्वास्थ्य प्रवद्र्धन, प्रतिकारात्मक, पुनस्र्थापना गर्ने लगायतको कार्य भइरहेको बताउनुभयो। कुष्ठरोगीलाई अझै पनि हेला गर्ने परिपाटी कायम रहेकाले जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको डा. जोशीको भनाइ थियो। 

८८ पालिका रहेको सुदूरपश्चिममा ५० भन्दा र २० भन्दा बढी बिरामी एक÷एक पालिकामा रहेका छन्। यस्तै, ११ देखि २० बिरामी दुई पालिकामा, पाँचदेखि १० बिरामी आठ पालिकामा, एकदेखि चार बिरामी ३३ पालिकामा रहेका छन्। ४३ पालिकामा भने कुष्ठरोगको शून्य केस रहेको जनाइएको छ। 

आर्थिक वर्ष २०७९/८० मा मात्रै यो प्रदेशमा २३० जना कुष्ठरोगी फेला परेका छन। जसमध्ये तीन जनामा रोग बल्झिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। कुष्ठरोग लागेकामध्ये १४ जना बालबालिका रहेका छन्। स्वास्थ्यकर्मीका अनुसार बालबच्चामा कुष्ठरोग लाग्नु गम्भीर विषय हो। 

निर्देशनालयका अनुसार कैलालीमा १४९, कञ्चनपुरमा ४३, अछाममा २२, बझाङमा ५, बैतडीमा चार जना नयाँ कुष्ठरोगी फेला परेका हुन। यस्तै, डोटीमा तीन, दार्चुलामा दुई, बाजुरा र डडेल्धुरामा एक/एक जना कुष्ठरोगी फेला परेका छन्। गतआर्थिक वर्षमा कुष्ठरोगका कारण २२ जना बिरामीमा अपाङ्गता समस्या भएको जनाइएको छ। 

नयाँ बिरामी सबैभन्दा बढी ८७ जना धनगढी उपमहानगरपालिकामा फेला परेका जनाइएको छ। यसैगरी, कैलारी गाउँपालिकामा २२ र भीमदत्त नगरपालिकामा १९ जना नयाँ बिरामी भेटिएका छन्। 

माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुबाट कुष्ठरोग लाग्ने गर्दछ। कुष्ठरोग लागेका व्यक्तिले समयमै उपचार गराएमा यो रोग पूर्ण रुपमा निको हुने गरेको निर्देशनालयका प्रमुख मनोज ओझाले बताउनुभयो। सुदूरपश्चिममा अझै कुष्ठरोगको जोखिम रहेको भन्दै उहाँले थप्नुभयो, “कम्तीमा पनि एक हजार जनसङ्ख्यामा एकभन्दा कम सङ्क्रमण कायम गर्ने लक्ष्य छ।”

सुदूरपश्चिमबाट कुष्ठरोग निवारणका लागि राज्य र सरोकारवाला निकायबाट सक्रिय बिरामीको खोजपड्ताल गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन, अपाङ्गता रोकथाम, पुनस्र्थापनाको कार्यक्रम अगाडि बढाउने लगायतको कार्यक्रम भइरहेको जनाइएको छ।