• १३ साउन २०८१, आइतबार

तनहुँमा ‘अफ्रिकन स्वाइन फिवर’बाट बङ्गुर बिरामी

blog

तनहुँको भानु नगरपालिकामा बिरामी भएको बङ्गुर । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, माघ १३ गते ।
तनहुँमा बङ्गुर तथा सुँगुरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फैलिन थालेको छ । रोग फैलिन थालेपछि जिल्लाका दुई नगरपालिकाले बङ्गुर तथा सुँगरको ओसारपसारमा प्रतिबन्ध लगाइएका छन् । भिमाद र भानुले प्रतिबन्ध लगाएका हुन् । 

बिरामी बङ्गुरको प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको पाइएकाले ओसारपसारमा प्रतिबन्ध लगाइएको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताउनुभयो । स्वाइन फिवर नियन्त्रणका लागि सावधानी अपनाउन नगरवासीलाई आग्रह गरिएको उहाँले बताउनुभयो । मरासिनीले भन्नुभयो, “रोग निदानका लागि शुक्रबार सूचना जारी गरी बँगुरसुँगुरको ओसारप्रसारमा पूर्ण रोक लगाएका छौं ।’’

नगरपालिकाको एक खोरमा अफ्रिकन स्वाइन फिवरसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि नमूना पठाइएकोमा अफ्रिकन स्वाइन फिवर पुष्टि भएको मरासिनीले जानकारी दिनुभयो । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याब परीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जारी गरेको सूचनामा पशुपालक कृषकहरुलाई केही समय सुँगर बँगुरको ओसारप्रसार नगर्न, फार्म वा खोरमा जैविक सुरक्षाका उपायहरु अबलम्बन गर्न, अनावश्यक रुपमा अरुको खोर वा फार्ममा नजान, फार्ममा काम गर्दा लगाएको कपडा, जुत्ताचप्पल अरु बेला प्रयोग नगर्न भनिएको छ ।

त्यस्तै, बङ्गुरसुँगुरमा कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै पशु सेवा शाखा, पशु सेवा केन्द्र वा पशु प्राविधिकलाई खबर गर्न र नियमित रुपमा फार्म वा खमेर वरपर फिनेल, चुना वा झिरकोन छर्न आग्रह गरिएको छ । बङ्गुर तथा सुँगुँर बिरामी भै ज्वरो आएमा, शरिरमा दागहरू देखा परेमा पशुसेवा शाखामा सम्पर्क गर्न पालिकाले आग्रह गरेको छ । 

भानु नगरपालिकाका पशु विकास शाखाका प्रमुख अमित ढुङ्गानाले बिरामी बङ्गुरमा ज्वरो बढी आउने, बान्ता गर्ने, झोक्राउने र शरीरमा नीलो डाम देखिने जस्ता लक्षण देखिएकाले ‘अफ्रिकन स्वाइन फिवर’ को भएको आशङ्का गरिएकाले ओसारपसारमा रोक लगाइएको बताउनुभयो । वडा नम्बर २ मा दुई फममा गरी ११ वटा बङ्गुर बिरामी भएको र त्यसको परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको उहाँले जानकारी दिनुभयो । ढुङ्गानाले भन्नुभयो, “रोग नियन्त्रणमा नआएसम्म ओसारपसार गर्न रोकिएको छ, कृषकहरूलाई सावधानी अपनाउन आग्रहका साथै नियन्त्रणका लागि पशु चिकित्सक र प्राविधिक परिचालन गरिएको छ ।”

यसैगरी, पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । सन् २०१८ मा छिमेकी भारत, चीन र भुटानमा देखिएको यो रोग नेपालमा पनि देखिएको थियो । सङ्क्रमण फैलिएको स्थानमा आवातजावत गर्दा चुना र भिरकोन छर्किने, मरेकालाई खाडल खनेर गाड्नुपर्छ । यो सरुवा रोग भएकाले सङ्क्रमितलाई छुट्टै राख्ने, होटलमा फालिएका खानेकुरालाई राम्रोसँग पकाएर खुवाउनुपर्ने प्राविधिकको भनाइ छ । रोगी बङ्गुर, सुँगुर, त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने र रोग छिटो फैलन सक्ने भएकाले सावधानी अपनाउनुपर्नेछ । यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग देखा परेपछि उपचार समेत हुन नसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने पशु स्वास्थ्यकर्मीको भनाइ छ ।