• १० मंसिर २०८१, सोमबार

सम्झनामा उर्मिलाकुमारी

blog

नेपाली गीत/सङ्गीत र कोलकाताको साइनो ऐतिहासिक छ । विसं १९६५ (सन् १९०८) मा सेतुरामले कोलकातामा गएर पहिलो पटक नेपाली गीत रेकर्ड गराउनुभन्दा छ वर्षअघि (सन् १९०२) नै कोलकातामा विश्वप्रसिद्ध बेलायती रेकर्डिङ कम्पनी द ग्रामोफोन एन्ड टाइपराइटर लिमिटेडले आफ्नो शाखा (सन् १९०७ मा कम्पनीको टाइपराइटर व्यवसाय सोचे अनुसारको नभएपछि व्यवसाय बन्द गरेर कम्पनीको नाम परिवर्तन गरी द ग्रामोफोन कम्पनी लिमिटेड राखियो) खोलिसकेको थियो । 

यस कारण पनि कोलकाता नेपालका मात्र नभई भारतका सङ्गीतकर्मी, चलचित्रकर्मी सबैको मनमा समेत बसेको स्थान थियो । त्यही स्थान अर्थात् कोलकाताबाटै सङ्गीतकार गोपाललाल श्रेष्ठ र उहाँकी भान्जी उर्मिलाकुमारी श्रेष्ठले नेपाल र नेपाली गीत/सङ्गीतलाई उल्लेखनीय योगदान पु¥याउनुभयो । 

सङ्गीतकार गोपाल श्रेष्ठ कोलकातामा नेपाली र अन्य मूलका सङ्गीत अनुरागीलाई सङ्गीतको विद्या दिनुहुन्थ्यो । उहाँको ‘स्कुल अफ थट’ भनेकै गायकीको आधारमा शास्त्रीयताको गमक र रचनाकारितामा शब्दको छनोट र चयनमा पृथक् भाव सम्प्रेषण थियो । उहाँलाई त्यतिबेला समवयवी भान्जी उर्मिलाकुमारीको गायकीले अपार साथ दियो, जब उर्मिलाकुमारीले नवीन बर्देवाको शब्दमा ‘सन्ध्या तिम्रो रिमझिमतामा दुःखै दुःखले भरिएको छ...’ गाउनुभयो ।

यस गीतले नेपाल र नेपालबाहिर एक रसमा आधुनिकताको विहङ्गम झल्को दियो । यस अर्थमा नेपाली सुगम सङ्गीतमा आधुनिकता भित्र्याउने श्रेय नै गायिका उर्मिलाकुमारी र सङ्गीतकार गोपाल श्रेष्ठलाई जान्छ । (नेपाली आधुनिक गीत : देश, काल र चिन्तन, प्रकाश सायमी, मधुपर्क, पुस २०८०)

सङ्गीतकार बुलु मुकारुङद्वारा लिखित ‘नेपाली सङ्गीतको अभिलेख’ (२०७१ मङ्सिर १९ मा प्रकाशित) पुस्तकको पृष्ठ ११० मा उहाँलाई आरम्भकालीन सुरकर्मीका रूपमा चर्चा गरिएको छ । 

“कृतिकर्मको हिसाबले वा योगदानका आधारमा नेपाली सङ्गीतले उल्लेख गर्न जरुरी छ । एउटा साधना गरेको मान्छे, शास्त्रीय सङ्गीतको आधारमा गीत गाउने मान्छे । नेपाली आधुनिक गीतमा पुर्‍याएको योगदान उल्लेखनीय र प्रशंसनीय छ,” मुकारुङ भन्नुहुन्छ । 

राजाराम फुयालद्वारा लिखित नेपाली सङ्गीतमा नारी (२०७३) पुस्तकमा उर्मिलाकुमारीलाई नेपाली सङ्गीतको माध्यमिक काल (विसं १९५१ देखि २००६ सम्म) मा उदाउनुभएकी गायिकाका रूपमा चर्चा गरिएको छ । विसं २००० बाटै सङ्गीतमा सक्रिय कलाकार हुनुहुन्छ–उर्मिलाकुमारी । 

नेपाली कहाँ गयो हाम्रो गीत यसै हरायो

झमझम परेली आँखाको गाजलु सम्झाउने कोही छैन

अमरसिंह जेसलले सङ्गीत गरेका यी गीत धर्मराज थापा र उर्मिलाकुमारीले युगल रूपमा गाउनुभएको छ । धर्मराज थापाका अनुसार यी गीत २००२ सालतिर कोलकाता गएर रेकर्ड गरिएका हुन् । उहाँले आफ्नो जीवनकालमा धर्मराज थापा, नवीन बर्देवा, गोपाललाल श्रेष्ठ, नीरविक्रम प्यासी, नातिकाजी र राजा महेन्द्रका गीतमा स्वर दिनुभएको छ । (नेपाली सङ्गीतमा नारी, राजाराम फुयाल, पृ. ४०, २०७३)

यसरी नेपाली आधुनिक गीतका इतिहासमा स्वर्णिम अक्षरले आफ्नो नाम लेखाउन सफल गायिका उर्मिलाकुमारीको पुस ५ गते ८९ वर्षको उमेरमा निधन भयो । श्रेष्ठको निधनका बारेमा नेपाली साङ्गीतिक क्षेत्र पूर्णतः बेखबर नै रह्यो भन्दा फरक नपर्ला । काठमाडौँमा उहाँ आफ्ना भदैनीहरू बन्दना श्रेष्ठ, अर्चना श्रेष्ठ तथा ज्वाइँहरू दिलीप श्रेष्ठ र द्वारिका श्रेष्ठको रेखदेखमा हुनुहुन्थ्यो । सरल, सौम्य र शान्त स्वभावककी फुपू (गायिका श्रेष्ठ) को निधनले उहाँहरूलाई पनि टुहुरो बनाएको छ । 

उर्मिलाकुमारीका आफन्तहरू भन्नुहुन्छ– “गीत/सङ्गीत रेडियो नेपालमा होलान्, ती इतिहास हुन् । त्यसको खोजी गरेर, संरक्षण गरियोस् ।” लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी जोशी) उर्मिलाकुमारीसँगको भेटघाट, कुराकानी सम्झिएर भावुक हुनुभयो । उहाँले भन्नुभयो, “उहाँ त नेपाली आधुनिक गीतको प्रवर्तकमध्येकै एक हो । मैले अरू गतिविधि त देख्न पाइनँ । निधन भएको खबर सुन्दा म अति दुःखी भएँ ।” 

उर्मिलाकुमारीले गाउनुभएका गीतहरूमध्ये अधिकांश गीत प्राध्यापक त्रिरत्न मानन्धरलाई अहिले पनि कण्ठाग्र नै छ । नेपाली गीत/सङ्गीतको आरम्भकालीन सङ्गीतकर्मी तथा उहाँहरूका गीतलाई नजिकबाट बुझ्नुभएका मानन्धरका अनुसार उर्मिलाकुमारीले धर्मराज थापासँग ‘झमझम परेली’, ‘उकाली चढ्ने ए परदेशी’, ‘नेपाली लैजाने हो लौ न नयाँ बाटो’ गरी तीन वटा गीतमा युगल गायन गर्नुभएको थियो ।

त्यस्तै उहाँका अन्य छ एकल गीतमा ‘सन्ध्या तिम्रो रिमझिमतामा’, ‘अचानक एक भेटैमा’, ‘बसूँ कति प्रिय म दिलमा चिता जलाई’, ‘यो माया आउने जाने हो’, ‘सपनामा याद आउँदा’, ‘नेपाली कहाँ गयो हाम्रो गीत यसै हरायो’ रहेका छन् । यीबाहेक उर्मिलाकुमारीका अन्य केही गीत पनि डिस्क रेकर्ड भएका छन् । “वर्ष त मलाई याद छैन तर धेरै अघि मैले नेपाली गीत/सङ्गीतको इतिहासका बारेमा लेखेका दुई किताब देखेँ । त्यहाँ त उर्मिलाकुमारीको नाम त कतै उल्लेखै रहेन छ । त्यसपछि आफूले पाएका जानकारीहरू समेटेर मैले एक्रोस म्यागेजिनमा लेखेको थिएँ,” मानन्धरले सम्झनुभयो । 

पङ्क्तिकारको गायिका उर्मिलाकुमारीसँग २०७५ असार २९ र २०७६ साउन २४ गते गरी दुई पटक भेट भएको थियो । उक्त भेटमा उर्मिलाकुमारीले बताउनुभए अनुसार धर्मराज थापा कोलकाता गएका बखत उहाँले कोलकाताको कोहिनुर कम्पनीमा थापासँग पहिलो पटक ‘झमझम परेली आँखैकी गाजलु’ लगायतका गीत गाउनुभएको थियो । उहाँले पहिलो पटक नेपालमा साङ्गीतिक सहकार्य गरेका व्यक्ति पनि धर्मराज नै हुनुहुन्थ्यो । उर्मिलाकुमारीले पछि मविवी शाहले लेखेको ‘अचानक एक भेटैमा’ गीत पनि गाउनुभएको थियो । शाह उहाँको गाएकीबाट निकै प्रभावित हुनुहुन्थ्यो । त्यसै कारण शाहले उर्मिलाकुमारीलाई स्वरकिन्नरी भनेर प्रमाणपत्र नै दिनुभएको थियो । उर्मिलाकुमारीले २०७६ साउन २४ गतेको भेटमा माथि उल्लिखित अधिकांश गीत पङ्क्तिकारको अनुरोधमा गाउनुभयो । ती गीतसँगै उहाँको अन्तर्वार्तासमेत पङ्क्तिकारको आर्काइभमा सुरक्षित छ । 

भारतमा रहँदा उर्मिलाकुमारीलाई स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू, द्वितीय प्रधानमन्त्री लालबहादुर शास्त्री, अभिनेता शशी कपुर, अमिताभ बच्चन, अभिनेत्री बैजयन्ती माला, सङ्गीतकार तथा अभिनेता जाकिर हुसेन, सङ्गीतकार तथा गायक मोहम्मद रफीलगायतले सङ्गीतलाई अझ सशक्त रूपमा अगाडि बढाउन सल्लाह दिनुभएको थियो तर उहाँ बाहिर आउन नै चाहनुभएन । व्यक्तिगत रूपमा पनि उर्मिलाकुमारीको सम्बन्ध उहाँहरूसँग निकै राम्रो थियो । आफ्नो जीवनको उत्तरार्धमा उर्मिलाकुमारी माथि उल्लिखित व्यक्तिसँगै आफ्ना जीवनका अन्य पाटा समेटिएका तस्बिरहरू हेर्दै बिताउने गर्नुहुन्थ्यो र ‘नोस्टाल्जिक’ बन्नुहुन्थ्यो । अब यी सबैकुरा सम्झना मात्र भएका छन् । 

उर्मिलाकुमारीको नेपालसँगको साइनो पुरानो भएता पनि उहाँ नेपालमा विसं २०६८ ताकादेखि भने पूर्ण रूपमा नै बसोबास गर्न थाल्नुभयो तर उहाँ नेपालमा रहेको कुरा अधिकांशलाई थाहा नै भएन । चर्चा परिचर्चाबाट टाढै रहने उहाँको बानी अर्थात् भनौँ अन्तरमुखी स्वभावका कारण इतिहास पनि गुमनाम नै रह्यो । नेपालको नागरिकता लिने उहाँको चाहना पनि कहिल्यै पूरा भएन । जीवनको लामो समय दुःख र एक्लोपनसँगै बिताउनुभएकी उर्मिलाकुमारीले शान्त रहेरै त्यसलाई पार लगाउनुभयो । सायद उहाँलाई लाग्थ्यो होला, जीवनमा धेरै कुरा नभनेर नै रहस्यकै गर्भमा रहन्छन् ।   

Author

सीताराम बडाल