• १३ साउन २०८१, आइतबार

कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव : कृषिमन्त्री भुसाल

blog

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसाल ।

काठमाडौं, माघ १२ गते । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताउनुभएको छ । शुक्रबारबाट सुरु भएको तीन दिने कृषिसम्बन्धी वृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौँ नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री भुसालले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताउनुभयो । उहाँले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको बताउनुभयो । उहाँले उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने जानकारी दिनुभयो । उहाँले कृषिमा अबका दिन यान्त्रीकरणको महत्त्व बढ्दै गइरहेको बताउनु भयो ।

‘‘कृषिमा प्रगति हुने नै प्रविधिको विकासमार्फत हो । आजसम्मको हामीले ढुङ्गे युगदेखि अहिले आएर जुन खालका अटोमेटिक मेसिनहरूको प्रयोग भएको छ, यो इतिहासलाई हेर्दा यही देखिन्छ । प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ । हामीले कृषि उत्पादनमा वृद्धि गर्नु नै पर्नेछ ।,’’ मन्त्री भुसालले भन्नुभयो, ‘‘अत्यन्तै मेहनतका साथ हामी त्यो गर्न चाहन्छौँ । उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्छ । लागत खर्च घटाउनुपर्छ । त्यसका निम्ति यान्त्रीकरणको ठुलो महत्त्व छ । आधुनिक प्रविधिको पनि धेरै ठुलो महत्त्व छ । यी दुवै कामका निम्ति यो प्रदर्शनीले योगदान गर्नेछ भन्ने मलाई लाग्दछ ।’’

कार्यक्रममा बोल्नुहुँदै मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानहरू ठगिने कुरालाई रोक्न जरुरी रहेको बताउनु भयो । उहाँले व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धाका कारण किसानहरू ठगिने गरेको बताउनु भयो । उहाँले कृषि यान्त्रीकरणलाई इमान्दार रूपमा कृषकसमक्ष पुर्‍याउन जरुरी रहेको बताउनुभयो ।

‘‘अहिले किसानहरू पनि ठगिने अवस्था आइरहेको हामीले देखिरहेका छौँ । अहिले हाम्रो अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । इम्पोर्ट र डेलिभरी गर्ने र किसानलाई कतिपय ठाउँमा भिडाउने, कतिपय ठाउँमा हाम्रै सरकारी संयन्त्रहरूमार्फत गरेका कुरामा पनि ओभरसाइड एजेन्सीहरूले त्यसमा कैफियतहरू देखाएर कतिपय हाम्रो साथीहरूलाई पनि अप्ठ्यारो परिरहेको अवस्था छ ।,’’ सचिव पौडेलले भन्नुभयो, ‘‘त्यसकारण यो अस्वस्थ प्रतिस्पर्धा पनि उद्योगी, सप्लायर्सबाट हुने गरेको छ । यो कुरा हामीले बिस्तारै हटाउनुपर्छ । हामीले एग्रिकल्चर मेकनाइजेसनको सन्दर्भमा अलिकति इमान्दार तरिकाले अघि बढौँ । यसलाई फैल्याउन आवश्यक छ । बजेटमा अनुदानका कुराहरू बढाउन र यसलाई व्यवस्थित तरिकाले अघि लैजानसक्यौँ भने किसानमाझ धेरै प्रस्तुत गर्न सक्थ्यौँ ।’’

शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कृषि सम्बन्धी वृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गते आइतबारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका सयभन्दा बढी स्टलहरू रहेका छन् । विशेष गरी कृषिसम्बन्धी भारत र चीनका कम्पनीहरूको स्टल मेला रहेको छ । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।