• १३ असोज २०८१, आइतबार

शीतलहर प्रभावित विपन्नलाई कम्बल वितरण

blog

शीतलहर प्रभावित विपन्नलाई कम्बल वितरण गरिँदै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ १२ गते । मधेश प्रदेश सरकारले शीतलहर प्रभावित विपन्न परिवारलाई कम्बल वितरण गर्न सुरु गरेको छ । धनुषाको लालगढमा बिहीबार मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता मोहम्मद समिमले विपन्न परिवारका सदस्यलाई कम्बल वितरण गर्दै यसको सुरुवात गरेका छन् । 

कम्बल वितरण गर्दै कानुनमन्त्री समिमले मधेशका जिल्लामा शीतलरहसँगै चिसो बढेपछि प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले शीतलहरबाट प्रभावित ज्येष्ठ नागरिक, दलित, गरिब, सिीमान्तकृत समुदायलाई कम्बल वितरण गर्ने निर्णय गरेअनुसार न्यानो कम्बल वितरण सुरु गरिएको बताउनुभयो । उहाँले प्रदेशका आठ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय मातहत रहेका जिल्ला विपद् व्यवस्थापन समितिमार्फत २० हजार कम्बल वितरण गरिने जानकारी दिनुभयो । सो कम्बल नेपाली सेनाबाट जि टु जि प्रक्रियामार्फत खरिद गरिएको जानकारी दिनुभयो । 

जाडोबाट प्रभावित भएका विपन्न वर्गमा राहतका लागि न्यानो कम्बल तथा डिभिजन वन कार्यालयसँग समन्वय गरी दाउरा वितरण लगायतका कार्यहरु भइरहेको बताउँदै मन्त्री समिमले चिसोमा लाग्ने हुस्सुका कारण राजमार्गमा सवारी दुर्घटना बढ्ने भएकाले सवारी साधनको निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताउनुभयो । 

त्यसैगरी, चिसो छल्न खास गरी ग्रामीण क्षेत्रमा लगाइने घुरले पनि आगलागीलगायतका घटना विगतमा हुने गरेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि सर्वसाधारणमा जनचेतना जगाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । चिसोबाट हुनसक्ने क्षतिका विषयमा सर्वसाधारणलाई जनचेतना जगाउने, विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्ने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा गैर सरकारी सङ्घसंस्थासँग समन्वय गरेर आवश्यकता अनुसार थप कार्यक्रम गर्न सकार गम्भीर रहेको उहाँले बताउनुभयो ।