• १३ साउन २०८१, आइतबार

पृथ्वी राजमार्ग मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डको कालोपत्रे सुरु

blog

पश्चिम खण्डको कालोपत्रे गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, माघ १२ गते । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डको कामले गति लिन थालेको छ । सुस्त गतिमा भइरहेको आयोजनाको काम तीन महिनाअघि देखि भने गति लिन थालेको हो । 

शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा एकतर्फी तीन सय ५० मिटर परिक्षण कालोपत्रे बिहीबार गरिएको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो । तीन महिना अघि आठ प्रतिशत प्रगति रहेकोमा हाल १५ प्रतिशत पुगेको छ । आयोजनाको कामलाई गति दिन रातको समयमा पनि काम भईरहेको र दशैं, तिहार जस्ता चाडपर्वमा समेत काम गरिएकोले प्रगति १५ प्रतिशत पुगेको पौडेलले बताउनुभयो । रातको समयमा समेत ४० देखि ५० जना कामदार पुल निर्माणका संरचना तयार पार्न खटिरहेको पौडेलले बताउनुभयो । पौडेलका अनुसार चिनियाँ कामदार ५० जना र नेपाली सहित ६० इन्जिनियर खटिएका छन् । 

फिल्डमा चार सय २५ जना नेपाली कामदारले दैनिक काम गरिरहेका छन् । आयोजना प्रमुख पौडेलले भन्नुभयो, "कामलाई गतिशिल बनाउन कामदारसँगै उपकरण थपेका छौं रातमा पनि काम भइरहेको छ ।" उहाँका अनुुसार एक्स्काभेटर ४०, लोडर १०, ग्रेडर ६ वटा र पानीको ट्याङ्र आठ वटा परिचालन गरिएको छ । विद्युत पोल सार्ने काम धमाधम भएकोले कामलाई गति लिन सहज भएको पौडेल बताउनुहुन्छ । २० किलोमिटर पिच गर्न आवश्यक पर्ने सामग्री तयार छ । पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडा सहित मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको पिच हुनेछ ।

तनहुँको म्याग्दे गाउँपालिकाकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाको कुम्ले खोलासम्म कालोपत्र गर्ने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, "काम धमाधम भईरहेको छ कालोपत्र गर्न ‘बेस’ राख्ने काम गरिरहेका छौं ।" सडक कालोपत्रका लागि दुई किलोमिटर बेसको काम सकिएको उहाँले जानकारी दिनुभयो । एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि रु. सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । 

पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाइने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार राजमार्गको पश्चिम खण्डमा १२ वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्भर्ट निर्माण हुनेछ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म ६ लेनको बन्ने भएको छ ।