• १३ साउन २०८१, आइतबार

परम्परागत प्रविधि लोपोन्मुख

blog

बिजुवार समाचारदाता

बिजुवार, माघ १२ गते । प्रविधिको परिवर्तनसँगै परम्परागत घरेलु प्रविधिको प्रयोगमा कमी आउन थालेको छ । प्युठानका गाउँघरमा समेत परम्परागत घरेलु प्रविधि विस्थापित बनेका छन् । चिउरीको बिजुला पेलेर घिउ निकाल्ने कोल, धान कुटेर चामल निकाल्ने ढिकी र मकै, गहुँ, कोदो पिसेर पिठो तयार गर्ने जाँतोजस्ता परम्परागत प्रविधिको प्रयोग अहिले गाउँमा कम हुँदै गएको छ । स्वर्गद्वारी नगरपालिका–५, सारीका ५० वर्षीय एमराज बुढाथोकीका अनुसार कोलमा चिउरीको बिजुला पेलेर घिउ निकालेको हिजो जस्तो लाग्छ । आधुनिक प्रविधिको विकाससँगै परम्परागत घरेलु प्रविधि र विधि विस्थापित बनेको हो । 

उहाँले भन्नुभयो, “गाउँघरमा बिजुली पुगेपछि विद्युतीय मिल भित्रिए । जसले गर्दा कुटानीपिसानी गर्ने ढिकी र जाँतोको प्रयोग हुन छाड्यो ।” स्थानीय गीता मगरका अनुसार नयाँ प्रविधिका साधन प्रयोग गर्न सजिलो, श्रम र समयको बचतका साथै मान्छेमा सुविधाभोगी प्रवृत्ति बढ्दा पनि यस्ता घरेलु उपकरणप्रति बेवास्ता बढेको हो ।