• १२ साउन २०८१, शनिबार

कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

blog

विजयी उम्मेदवारहरु कृष्णबहादुर रोकाय, सावित्री मल्ल र विष्णु विक ।

नवीन शाही

सुर्खेत, माघ ११ गते । राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धन दलका उम्मेदवार विजय हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनमा फराकिलो मतान्तरले गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो ।

गठबन्धन दलबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय, नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र नेकपा माओवादी केन्द्रका विष्णु विक विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

रोकायले तीन हजार ८७० मतभार प्राप्त गर्नुभएको छ । उहाँले ३० प्रदेश सभा सदस्य बराबर एक हजार ५९० मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका डिल्ली प्रसाद भट्टराईले एक हजार २१४ मतभार लिनुभयो । उहाँले १० प्रदेश सभा सदस्य बराबर ५३० मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित हुनुभयो । 

महिलातर्फ विजयी हुनुभएकी मल्लले तीन हजार ७१९ मतभार प्राप्त गर्नुभएको छ । उहाँले २९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र ११५ स्थानीय तह मतदाता बराबर दुई हजार १८५ मतभार प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विमला शाहीले एक हजार ३६२ मतभार लिनुभयो । उहाँले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मतभार र ४१ स्थानीय तह मतदाता बराबर ७७९ मतभार प्राप्त गरी पराजित हुनुभयो । 

यस्तै, दलिततर्फ विजय हुनुभएका विष्णु विकले तीन हजार ८१७ मतभार प्राप्त गर्नुभएको छ । उहाँले ३९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हिक्मत विकले एक हजार ३६७ मतभार लिनुभयो । उहाँले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित हुनुभयो ।   

निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार रहेको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभा तर्फका ४० सदस्यले मतदान गर्नुभएको थियो ।

त्यस्तै, ७९ स्थानीय तहका कूल १५८ मतदातामध्ये १५६ जनाले मतदान गर्नु भयो । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको निधन भएको थियो । 

प्रदेश सभातर्फ घनश्याम भण्डारीद्वारा पहिलो र सभामुख नन्दा गुरुङद्वारा अन्तिम मत खसेको थियो भने स्थानीय तहतर्फ सुर्खेतको गुर्भाकोट नगरपालिका प्रमुख हस्तबहादुर पुनद्वारा पहिलो र जाजरकोटको शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले अन्तिम मतदान गर्नुभएको थियो ।