• १३ साउन २०८१, आइतबार

दादुरा-रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

blog

फाइल तस्बिर

काठमाडौँ, माघ ११ गते । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा-रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई  विरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा-रुवेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ । 

“बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ”, प्रमुख डा.गौतमले भन्नुभयो । जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उहाँले बताउनुभयो । 

परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । दादुरा-रुवेला सबैभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ । “दादुरा-रुवेला बढी सङ्क्रामक हुन्छ”, खोप शाखा प्रमुख डा.गौतमले भन्नुभयो, “त्यसैले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गर्न थालेका छौँ ।” रासस