• १३ साउन २०८१, आइतबार

यु–१९ विश्वकप क्रिकेट : नेपाललाई अफगानिस्तान पन्छाउने चुनौती

blog

फाइल तस्बिर ।

काठमाडौँ, माघ ११ गते । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई अघिल्लो चरण (सुपर सिक्स) मा पुग्न अफगानिस्तानलाई पन्छाउनु पर्ने चुनौती छ । 

यस्तै दुई खेलमा पराजित भएको अफगानिस्तानलाई पनि अगाडि बढ्न नेपाललाई हराउनु पर्ने बाध्यता छ । नेपाल र अफगानिस्तानबिचको खेल नकआउट सरह छ । समूह ‘डी’ अन्तर्गत नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले  पराजित भएको थियो । यस्तै नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । 

समूहमा लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अङ्क जोड्दै सुपर सिक्समा पुगिसकेका छन् । नेपाल र अफगानिस्तान अङ्कविहीन छ । त्यसैले शुक्रबार नेपाल र अफगानिस्तानबिचको खेल दुवै टोलीका लागि गर या मरको अवस्था छ । 

विश्वकपमा नेपालले समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको हो । यस समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेको छ । विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह  ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।